टोकियो ओलम्पिक २०२०: उद्घाटन समारोह (सम्पूर्ण जानकारी)

आर्जव घिमिरे
195
Shares
Fireworks light up the sky over the Olympic Stadium during the opening ceremony of the Tokyo 2020 Olympic Games, in Tokyo, on July 23, 2021. (Photo by Charly TRIBALLEAU / AFP) (Photo by CHARLY TRIBALLEAU/AFP via Getty Images)

काठमाडौं। निर्धारित मिति भन्दा एक वर्ष पछि टोकियो ओलम्पिक २०२० को आज औपचारिक उद्घाटन भएको छ।

करिब १.५ बिलियन अमेरिकी डलरमा निर्मित टोकियोस्थित ‘नेशनल ओलम्पिक स्टेडियम’मा आज ‘जुलाई २३’ मा भव्य उद्घाटन समारोह आयोजना गरियो। ७० हजार दर्शक क्षमता भएको नवनिर्मित रंगशालामा मात्र ९५० ‘भीआईपी’लाई प्रवेश अनुमति दिइएको थियो। उद्घाटन समारोहमा १५० जापानी नागरिक उपस्थित भएका थिए भने ८०० जना विदेशी नागरिक समावेश गरिएको थियो।

कोरोना महामारीको प्रभाव जापानमा निरन्तर रूपमा बढिरहेको बेला बिना कुनै दर्शक उद्घाटन समारोह आयोजना गरिएको हो। अझै आयोजक ओलम्पिक समितिले टोकियो ओलम्पिकसँग सम्बन्धित थप ११० जनामा कोरोना संक्रमणको पुष्टि गरेपछि कार्यक्रममा झन् कडाइ गरिएको हो।

समारोहमा जापानका सम्राट नारुहिटोले टोकियो ओलम्पिक २०२० औपचारिक रूपमा खुल्ला गरिएको घोषणा गरेका थिए। कोरोनाकै कारणले समारोहमा नारुहिटो एक्लै उपस्थित भएका थिए। उनका परिवारजन उद्घाटन समुहमा उपस्थित हुन पाएनन्। समारोहमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच पनि उपस्थित थिए।

त्यस्तै अन्य विदेशी ‘भीआईपी’मा फ्रेन्च राष्ट्रपति इमानुवेल माक्रोन उपस्थित भएका थिए। सन् २०२४ को ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने भएको कारणले पनि उनी समारोहमा उपस्थित भएका हुन्।

अमेरिकी ‘फर्स्ट लेडी’ जील बाइडेन पनि उद्घाटन समारोहमा उपस्थित थिइन्। उनले उद्घाटन समारोह अगाडि नै जापानी सम्राट नारुहिटोसँग उनको इम्पेरीयल दरबारमा भेटघाट समेत गरेकी थिइन्।

 

कोरोना पीडितका लागि मौनधारण

आयोजक राष्ट्र जापानको राष्ट्रिय गान पछि उद्घाटन समारोहमा १ मिनेटको मौनधारण गरियो।

विश्वव्यापी रूपमा कोरोनाले पारेको प्रभाव र यसको कारण पीडित भएका परिवार र खेलाडी प्रति समारोहमा मौनधारण गरिएको थियो।

 

उद्घाटन समारोहमा सबै देशको मार्च पास

साधारणतया ओलम्पिकको उद्घाटन समारोहमा भरिएको रंगशालाले खेलाडीलाई स्वागत गर्ने गर्दछ। तर यस पटक सबै राष्ट्रको मार्च पास दर्शक बिना नै भयो।

नेपालको तर्फबाट मार्च पासमा पौडी खेलाडीद्वय गौरीका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले नेपालको राष्ट्रिय झण्डा बोके। मार्च पासमा नेपालकोतर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए।

नेपाल

मार्च पासमा सहभागी: ८ सदस्य
झण्डा बोक्ने: गौरीका सिंह र एलेक्जेन्डर शाह
जम्मा खेलाडी: ५

त्यस्तै अन्य केही देशका मार्च पासमा सहभागी सदस्य यसप्रकार रहेका छन्।

दक्षिण कोरिया

मार्च पासमा सहभागी: २६ सदस्य
झण्डा बोक्ने: ह्वाङ सुन वु र किम यान कुङ
जम्मा खेलाडी: ३५४

क्यानाडा

मार्च पासमा सहभागी: ३०-४० सदस्य
झण्डा बोक्ने: मिरान्डा आईम र नेथन हिरयमा
जम्मा खेलाडी: ३७०

भारत

मार्च पासमा सहभागी: २५ सदस्य
झण्डा बोक्ने: म्यारी कोम र मनप्रित सिंह
जम्मा खेलाडी: २२८

अस्ट्रेलिया

मार्च पासमा सहभागी: ५० सदस्य
जम्मा खेलाडी: ४७२

संयुक्त राज्य अमेरिका

मार्च पासमा सहभागी: २०० सदस्य
झण्डा बोक्ने: सु बर्ड र एडी अलभारेज
जम्मा खेलाडी: ६१३

 

१८ सय ड्रोनद्वारा ग्लोब निर्मित

उद्घाटन समारोहको अन्त्य तिर निकै सुन्दर दृश्य देखियो। १८ सय ड्रोन एकसाथ आकाशमा उडेर ग्लोब निर्मित हुँदा नेशनल स्टेडियम नै स्तब्ध भएको थियो।

ड्रोनहरुले ग्लोब बनाउने क्रममा प्रस्दर्शनकर्ताले लेजेन्डरी गायक जोन लेननको ‘इम्याजिन’ भन्ने गीत पनि गाएका थिए। ‘इम्याजिन’ गीत गाउन संगीतका सुपरस्टार जोन लेजेण्ड र किथ अर्वन पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?