सुजिता भण्डारी प्रकरण: सहोदर दाजु पक्राउ, प्रहरी भन्छ- ‘लभ रिलेशन’

काठमाडौं– प्रहरीले चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण्मा उनकै ठूलो बुबाका छोरालाई पक्राउ गरेको छ ।

चितवन प्रहरीले सुजिताको ठूलो बुबाका छोरा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो । चितवन प्रहरीले आज पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा घटनाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सुजिता र सुकदेवको सम्बन्ध पारिवारिक र दाजु बहिनीको मात्र नभई शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लैजाँदा सुकदेव पक्राउ परेका हुन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजु भाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

उनीहरु नजिकका नातेदार भएकाले विवाह गर्न सामाजिक र नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एक आपसमा अपहरणमा परेको बाहना बनाइ कसैले थाहा नपाउने ठाउँमा बस्ने योजनासमेत बनाएका खुल्न आएको प्रहरीले जनाएको छ ।
सुजिताले बिहे गर्न भने पनि सुकदेवले नमानेको र उनीहरुबीच बिवाद भएपछि सुजिताले मर्छु भनेको तथा सुकदेवले जे गर्ने हो गर भनेको खुल्न आएको प्रहरीको भनाइ छ।

सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार सुजिताको शव चितवनको जंगलमा भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?