पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

लोकपथ
0
Shares

जाजरकोट। जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगिन् । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउँछिन् ।

आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त रु ५० हजारको चेक भुक्तानीका लागि उनी सदरमुकाम आएकी हुन् । आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उनलाई ५० हजारको चेक दिएको थियो ।

चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको छ तर काम भने ज्यूँकात्यूँ रहेको दमाईंले भनिन् । लाइन बस्दाबस्दा दिक्क लागेर आएको उनीको भनाइ छ । “सदरमुकाम पहिलो पटक आएको हुँ, यहाँ कसैलाई चिन्दिनँ, काम पनि हँुदैन, के अचम्म हो यस्तो ? होटलको बास बस्दा आजसम्ममा सात हजार ८०० खर्च भइसकेको छ ।”

आउँदा दुई हजार ५०० गाडी भाडा खर्च गरेकी दमाईंको जाँदा पनि सोही रकम खर्च हुनेछ । निम्न आर्थिक अवस्था रहकी दमाइको घरमा बिरामी श्रीमान् र छ वटा छोराछोरी छन् । घरको सबै काम उनकै काँधमा छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाएको रु ५० हजार सदमुकामको होटल बास र आउने जानेमै सकिने हो कि भन्ने चिन्ताले पिरोलिएको छ”, उनीले भनिन्, “बिहान ५ बजेदेखि लाइन बसेको बेलुकी ४ बजेसम्म बल्लबल्ल पालो आउँछ । आएको पालोमा पनि कहिले इन्टरनेट चलेन, त कहिले रकम नै छैन भन्दै रकम नदिएर भोलि आउन सल्लाह दिँदै दिन बितिरहेका छन् ।”

उनीजस्तै जुनिचाँदे गाउँपालिका–४ का शङ्कर खड्का सदरमुकाम १४ दिन बिताएर बल्लबल्ल रकम भुक्तानी लिएको बताए । सङ्घीय खानेपानी आयोजनाअन्तर्गत काम गरेको पारिश्रमिक लिन आएका ६८ वर्षीय खड्काले भुक्तानी रकमको आधा बजेट होटल र यातायातमा खर्च भएको पीडा पोखिन् । उनीसहित एकै योजनाका तीन जना सदरमुकाम आउँदा र धेरै दिन बैंकले झुलाउँदा धेरै खर्च भएको हो ।

जुनिचाँदे –१ का नरसिंह दमाईं जनता आवासअन्तर्गत काम गरेको पारिश्रमिकबापत रकम लिन आएको एक हप्तापछि आधा रकम सदरमुकाममै खर्च भएको बताए। निकासा भएको रकमको आधा सदरमुकाममै सकिँदा अब ऋण कसरी तिर्ने भन्ने चिन्ता दमाईंको छ । रु ४७ हजार ५०० रकम लिन उन सदरमुकाम आउँदा भाडा, बास र नास्तामा धेरै खर्च भएको थियो । बैंक र कार्यालयमा काम ढिला हुँदा यसरी समस्या भएको थियो ।

उनीहरु जस्तै जुनिचाँदे गाउँपालिकाबाट बैंकको काम लिएर सदरमुकाम आउने अधिकांशको काम नहुँदा र भए पनि हप्ता दिन बढी बस्नु पर्दा पारिश्रमिकबापत पाउने रकमको आधा सकिने गरेको हो । गाउँमा बैंक नहुँदा यहाँका सर्वसाधारण सदरमुकामस्थित कृषि विकास बैंकमा आउने गरेका छन् । गाउँपालिकाको केन्द्रका विषयमा विवाद भएपछि जुनिचाँदेमा बैंक स्थापना हुन सकेको छैन ।

गाउँपालिकाको दुई तिहाइको निर्णयानुसार लुहादहमा २०७५ वैशाख ३१ गते केन्द्र तोक्ने निर्णय भएको थियो । निर्णय भएको केही समयपछि तीन जना सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशले सङ्घीय सरकारलाई गाउँपालिका तोक्ने निर्णयमा गणपूरक सङ्ख्या नपुगेको भन्दै कार्यान्वयन गर्न नसकिने भनी पत्राचार गरेपछि अहिलेसम्म जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको टुङ्गो लागेको छैन । केन्द्रको टुङ्गो नलागेका कारण गाउँमा बैंक जान नसकेको बताइएको छ ।

गाउँमा बैंक नजाँदा सबै काम सदरमुकाम आएर गर्नुपर्दा सर्वसाधारण हैरान हुँदै आएका छन् । त्यस्तै सदरमुकाममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकको संख्या बढेका कारण बैंकमा कामको चाप बढेको हो । कृषि विकास बैंकका प्रमुख सन्तोष योगीले नेपाल बैंकबाट रकम ल्याउने गरेको र त्यहाँ नै रकम नभएपछि समस्य भएको बताए । बिहीवारदेखि पर्याप्त बजेट भएकाले समस्य नभएको तर ग्राहक संख्या बढी भएकाले काममा ढिला भएको बताए ।

सबै काम सदरमुकाममै गर्नुपर्दा आफूहरु सङ्घीयताको अनुभूति गर्न नपाएको स्थानीयवासीको भनाइ छ । गाउँमै सिंहदरवार आएको भन्ने नेताहरु यसप्रति संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?