धितो दिन नसक्नेका लागि गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

लोकपथ
28
Shares

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए। हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बङ्गलादेश बैंक लि। मकवानपुरगढी शाखाबाट उनीहरुले ऋण प्राप्त गर्ने जनाए ।

नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले जनाए।

मनकामना दुग्ध सहकारी संस्था लि. का अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । गाईबस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिए ।

क्रेडिटकार्ड प्राप्त गरेर खुशी हुनुभएका कृषक कृष्णप्रसाद तिमल्सिनाले यो ऋणले भैँसी किन्ने बताए । दूधबाट मनग्य आम्दानी हुने भएका कारण आफूलाई भैँसी किनेर दुग्ध व्यवसाय गर्न मन लागेको उनको भनाइ छ । यसैगरी अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाई किन्नमा उक्त ऋण लगाउने बताए । सहुलियत ब्याजदरमा ऋण प्राप्त गरेकाले पनि ऋण चुक्ता गर्न सजिलो हुने उनको विश्वास छ ।

यसैगरी कृषक सूर्यमाया रुम्बा पनि किसान क्रेडिटकार्ड पाएर खुशी भइन । पशुपालनलाई मुख्य पेशा बनाउँदै आएकी उनीले महिला भएकै कारण ३.५६ प्रतिशत ब्याजदरमा ऋण प्राप्त गरेको बताइन्। दूधबाट मनग्य आम्दानी हुने उनले भनिन्। वाग्मती प्रदेश सरकारले ऋृण लगानीको सबैभन्दा ठूलो हिस्सा कृषिमा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?