अटो चालकद्वारा हुलाकी राजमार्ग अवरुद्ध

सप्तरी । अटो चालकहरुले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत राजविराज–पत्थरगाडा सडक खण्ड अटो चालकहरुले अवरुद्ध पारेका हुन् ।

सदरमुकाम राजविराजदेखि करिब ५ किलोमिटर पश्चिम पर्ने मुतनी नदीको पूर्वतिरको बाटो वर्षाका कारण हिलाम्मे भएको छ । हिलाम्मे भएकै कारण पैदल हिड्न नसकिने अवस्थमा पुगेपछि स्थानीयसहित अटो चालकहरुले बाटो अवरुद्ध पारेका हुन्।

मुतनी नदी नजिकै अटो टेम्पो चालकहरुले टेम्पो नै सडकमा राखेर बाटो अवरुद्ध गरेका छन् भने सोही सडकखण्डको विषहरीयामा सडकमै धान रोपर विरोध गरिएको छ।

निर्माणाधीन अवस्थामा रहेको सो सडकमा वर्षाका कारण ठाउँ–ठाउँमा खाल्टो र हिलोले अहिले जनतालाई राजविराज आउँनका लागि निकै समस्या भइरहेको स्थानीय महेन्द्र यादवले बताए ।

स्थानीयले बाटो बन्द गरेपछि सो बाटोलाई खुलाउनका लागि राजगढ गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष लक्ष्मी ठाकुर र डाक्नेश्वरी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष भोला चौधरी तथा प्रहरी चौकी पथरगाडाका प्रहरी टोलीले संसुक्त रुपमा पहल गरिरहेको स्थनीय युवा दिलिपकुमार साहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?