ए डिभिजन लिग रोक्न चार क्लबको ज्ञापनपत्र, एन्फा अध्यक्ष भन्छन्- “ज्ञापनपत्रले केहि फरक पार्दैन”

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदै छ । १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलवार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताए ।

ललितपुरका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलवार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितीमा नै लिग हुने बताए।

सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले यस अघि नै जारी गरेको छ । एन्फाले यस अघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो साताबाट गर्ने बताइसकेको थियो । सोही बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो । चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतवार छलफल हुने उनले बताए । लिगमा सहभागि नभए लिग नियमावली अनुसार हुने अध्यक्ष शेर्पाले बताए ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?