टोकियो ओलम्पिक: रेडी, स्टेडी, गो !

काठमाडौं। खेलकुदको महाकुम्भ ओलम्पिकको ३२औं ओलम्पियाड तथा टोकियो ओलम्पिक २०२० औपचारिक रुपमा आजदेखि सुरु हुँदै छ।

‘युनाइटेड बाई इमोसन’ नाराका साथ आयोजना हुन गइरहेको टोकियो ओलम्पिकका खेलहरु २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म खेलिनेछन्। २०५ राष्ट्र र अन्य स्वतन्त्र ओलम्पिक कमिटीका टोली सहभागी हुने यस ओलम्पिकमा ३३ खेलका ५० विधामा प्रतिस्पर्धा हुनेछ। विश्वभरिका ११,३२४ खेलाडीले आफ्नो राष्ट्रको स्वर्ण पदकको लागि ३३९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१३ मा अर्जेन्टिनाको राजधानी व्युनस एरिसमा आयोजना भएको अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को १२५औं सभामा टोकियोलाई सन् २०२० ओलम्पिक आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। प्रारम्भिक मिति अनुसार सन् २०२० जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

सोही कारण एक वर्ष पछाडि धकेलिएको ओलम्पिक आजबाट सुरु हुँदै छ। तोकिएको समयमा हुन नसकेपनि रद्द नभई स्थगित मात्रै भएको यो पहिलो ओलम्पिक प्रतियोगिता रहेको छ। यसै कारणले यस गृष्मकालीन ओलम्पिकको नाम ‘टोकियो २०२०’ बाट परिवर्तन गरिएन। त्यस्तै टोकियो ओलम्पिक अन्त्य भएको दुई सातापछि टोकियोमा प्यारालम्पिक पनि आयोजना हुँदै छ।

टोकियो ओलम्पिक जापानमा खेलिने चौथो ओलम्पिक हुनेछ। यसअघि टोकियो १९६४, सापोरो १९७२ र नगानो १९९८ ओलम्पिक जापानले आयोजना गरिसकेको छ। सन् १९४० मा पनि टोकियोमा ओलम्पिक हुने निश्चित भइसकेको थियो तर दोस्रो विश्व युद्धका कारण सो हुन सकेको थिएन।

पूर्वी एसियामा आयोजना हुन लागेको लगातार तीन मध्येको यो दोस्रो ओलम्पिक प्रतियोगिता हो। सन् २०१८ मा दक्षिण कोरियाको पियोङचाङले हिउँदे ओलम्पिक आयोजना गरेको थियो भने सन् २०२२ मा चीनको राजधानी बेइजिङले पनि हिउँदे ओलम्पिक आयोजना गर्दै छ।

 

टोकियो ओलम्पिकमा नयाँ खेल

यस पटकको ओलम्पिकमा ‘३*३ बास्केटबल’, ‘फ्रि-स्टाइल बीएमएक्स’ जस्ता खेलले स्थान पाएका छन्। यस ओलम्पिकमा ‘म्याडिसन साइकलिङ’ले पनि पुनरागमन गर्ने निश्चित भएको छ।

सन् २०१५ सेप्टेम्बर २८ मा टोकियो ओलम्पिक आयोजक समितिले अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) माझ पाँच नयाँ खेलको प्रस्ताव राखेको थियो। सन् २०१६ अगस्ट ३ मा आईओसीले सो प्रस्ताव स्वीकार्दै निम्नलिखित खेललाई ओलम्पिक २०२० को खेलमा सूचीकृत गरेको थियो।

बेसबल/सफ्टबल
कराते
स्पोर्ट क्लाइम्बिङ
सर्फिङ
स्केटबोर्डिङ

यी खेलहरु समावेश भएपछि टोकियो ओलम्पिकमा जम्मा ३३ खेल हुनेछन्।

 

पदक वितरण

सन् २०१९ जुलाई २४ मा टोकियो ओलम्पिक २०२० को पदकको नमूूना पक्का गरिएको थियो। देशव्यापी रूपमा आयोजना गरिएको खुल्ला प्रतिस्पर्धाबाट ‘जुनिचि कावनिशी’को डिजाइन पक्का गरिएको थियो।

कोरोना महामारीकोबीचमा आयोजना भइरहेको टोकियो ओलम्पिकमा पदक विजेताले आफैंले पदक लगाउनुपर्ने नियम लगाइएको छ। व्यक्ति–व्यक्तिबीचको सामाजिक दूरीलाई कायम गर्न सो नियम लगाइएको हो।

 

ओलम्पिक मास्कट

टोकियो २०२० को औपचारिक मास्कट रहेको छ ‘मिराइटोवा’।टोकियो २०२० को लोगोबाट प्रेरित मिराइटोवा एउटा काल्पनिक पात्र रहेको छ।

करिब २ हजारभन्दा बढीले डिजाइन गरेका मास्कटमध्ये मिराइटोवालाई छानिएको हो। मिराइटोवा दुई जापानिज शब्दले बनेको छ। ‘मिराइ’को अर्थ भविष्य रहेको छ भने ‘टोवा’को अर्थ अनन्त रहेको छ।

 

ओलम्पिकमा नेपाल

टोकियो ओलम्पिक २०२० मा नेपालबाट ५ खेलाडीसहित २६ सदस्यको सहभागिता रहेको छ।

नेपालले ४ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालबाट पौडीमा गौरीका सिंह र एलेक्जेन्डर (एलेक्स) शाह, शुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट तथा एथलेटिक्समा सरस्वती चौधरीले सहभागिता जनाउने छन्। गौरीका र एलेक्स दुवैले क्रमशः महिला १०० मीटर फ्रि-स्टाइल र पुरुष १०० मीटर फ्रि-स्टाइलमा भाग लिनेछन्। त्यस्तै कल्पनाले महिला १० मीटर एयर राइफल, सोनियाले महिला ४८ केजी तौल समूह र सरस्वतीले महिला १०० मीटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। यी चार खेलको प्रशिक्षण टोली यस्तो रहेको छ।

पौडी: शंकर कार्की
शुटिङ: असीम यादव
जुडो: सूर्यनारायण श्रेष्ठ
एथलेटिक्स: इन्द्रकुमारी मल्ल/ सन्तोष श्रेष्ठ

टोकियो ओलम्पिकमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने भएकी छिन्। दोस्रो पटक ओलम्पिक खेल्न लागेकी गौरिकासंगै एलेक्जेन्डर (एलेक्स) शाहले पनि नेपालको झण्डा बोक्ने पक्का भएको छ।

यसैगरी जुडोतर्फ पहिलो खेलमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। पहिलो चरणको खेल तालिका सार्वजनिक भएसँगै सोनियाले ४८ केजी तौल समूहमा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। यसै महिना सम्पन्न कजान ग्रान्डस्लाम विजेता इरिना विश्व वरीयतामा ९औं स्थानमा रहेकी छिन्।

वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी सोनियाले १३औं सागमा काश्य पदक जितेकी थिइन्। विश्व जुडो च्याम्पियनशिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी सोनियालाई इरिनको चुनौती कठिन रहने अपेक्षा गरिएको छ। सोनिया र इरिनाबीचको खेल जुलाई २४ मा खेलिने तालिका रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?