काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै डा. पौड्यालले करिब ६ लाख नेपाली आमाका सन्तान नागरिकता बिहीन भइरहँदा पनि संसदबाट नागरिकता सम्बन्धी विधेयक पास हुन नसकेको बताइन् । नागरिकता सम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उनले विधेयक पास नहुन्जेलसम्म सो अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताइन् ।
उनले राजनीतिक सहमती हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भएपनि नागरिकता सम्बन्धी विधेयक अगाडि बढाइनुपर्ने बताइन् ।
उनले भनिन्,‘यदी दलीय सहमती नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ हामीले भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेकको छ । त्यस्ता कुरामा फ्लोर क्रस गरौँ, जसले जनताको टड्कारो आवश्यकतालाई पूर्ति गर्छ । सबैलाई भोट हाल्न लगाउँ न त । आमाको नाममा नागरिकता दिने भनेर जब संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन ? कि हामी सबै पितृ सत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपथ्र्यो । नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग गर्न पाउने गरीकन अस्थायी व्यवस्थापन गरौँ । जे लेखेर दिनुपर्छ लेखेर दिऊँ । नेपाली आमाको सन्तान नागरिकता बिहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर म ध्यानाकर्षण गराउन चाहान्छु ।’
नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरु जवाफदेही बन्न नसकेको उनले बताइन् । ६ लाख बढी नागरिकलाई नागरिकता दिन नसकेर सांसदहरुले अपराध गरिरहेको पौड्यालले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया