‘अनि हामीले देउवालाई घोक्रो समातेर प्रधानमन्त्री बनायौँ’ (भिडियोसहित)

लोकपथ
20.6k
Shares

पछिल्लो समय नेपालको राजनीतिक परिदृश्य केही फेरिएको छ । नेपाली कांग्रेस सत्तामा गएको छ । नेकपा एमाले प्रतिपक्षी दल बन्न पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत पनि प्राप्त भइसकेको छ । नेकपा एमालेभित्रको आन्तरिक कलह मिल्ला कि नमिल्ला, त्यसलाई पनि निकै चासोका साथ हेरिएको छ । सरकारी गठबन्धनमा ५ दल सम्मिलित छन् । यिनै विषयमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंहरूलाई कांग्रेस त मनपर्ने कुरा भएन, माओवादी पनि फिटिक्कै मनपराउनु हुन्न । अहिले त नारिएर पाँच दलीय गठबन्धन बनाउनुभयो । तपाईंहरू संघीयताविरोधी तर कांग्रेस र माओवादी संघीयताका पक्षधर छन् । विचारै फरक भए पनि मिल्ती त बडो गजबको छ नि !

त्यही विचार नमिलेर त गठबन्धन बनाएको हो । विचार र सिद्धान्त मिले त एउटै पार्टी भइहाल्छ नि । हामीले एजेन्डा मिलेकाले गठबन्धन बनाएका हौँ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधानलाई समेत धरापमा पारेपछि त्यसविरुद्ध हामीले कार्यगत एकता गरेका हौँ । जुन पार्टीसँग सिद्धान्त र विचार मिल्दैन त्योसित गर्ने भनेकै कार्यगत एकता हो । यसलाई कतिपय मान्छेले बुझेका छैनन् । राष्ट्रिय जनमोर्चाले उनीहरूसँग त्यही गरेको हो । यो राष्ट्रिय हितका लागि कार्यगत एकता हो ।

यो गठबन्धन कहिलेसम्म रहन्छ त ?

गठबन्धन प्रतिगमन सच्याउन हो । संविधान र संसद् ध्वस्त पार्ने प्रतिगमन हराउन सहकार्य ग¥यौँ तर हामी सरकारमा भने जाँदैनौँ, प्रतिपक्षमै बस्छौँ । अब सत्तामा बस्नेले राम्रो काम गरे समर्थन गर्छाँै, नराम्रो गरे फेरि विरोध गर्छाैँ ।

पहिला केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्नुभयो, पछि ओलीको अनुहार मन नपरेर हो कि के भएर समर्थन गर्नुभएन । किन ?

हामीले व्यक्तिलाई हेरेर समर्थन गरेको होइन । २०७४ को निर्वाचनमा कांग्रेसले सहकार्य गरौँ भन्यो । तर, त्यतिबेला चोर भए पनि चण्डाल भए पनि बाम एकतातिर लागौँ भन्यो हाम्रो पार्टीले, अनि त्यता लाग्यौँ । अनि ओली नेतृत्वमा सरकार बन्यो तर त्यो सरकारले न्यूनतम प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत बेवास्ता गरेपछि हामीले अरुसँग कार्यगत एकता गरेका हौँ । ओलीले पहिलो पटक पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि हामी त्यही दिनदेखि प्रतिगमन भयो भनेर त्यसका विरुद्ध लाग्यौँ । संसद् पुनस्र्थापना भयो, फेरि दोस्रो पटक पनि विघटन गरेपछि त झन् हामी सबै त्यसविरुद्ध लाग्यौँ ।

अब त तपाईंहरू सत्तापक्ष, सत्ता साझेदार दलबीच सरकार सञ्चालन गर्न संयन्त्र बनाउने कुरा पनि आएको छ । यसको आवश्यकता हो ?

हामी सत्तापक्षको बेञ्चमा बस्दैनौँ । हामी प्रतिपक्षमै बस्छौँ । सत्तामा जानेभए त गण्डकी प्रदेशमा जान्थ्यौँ नि । त्यतिबेला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सरकार जोगाउनु प-यो कतिवटा मन्त्रालय लिने हो लिनुस्’ भनेका थिए । तर हामीले मानेनौँ । हामीले संयन्त्रमा बस्दैनौँ भनिसकेका छौँ ।

तपाईंहरू संघीयताको कट्टर विरोधी अनि सरकारमा गएको भए त तपाईंका मुद्दा स्थापित हुन्थे होला नि ?

हुँदैन । हामीसँग त्यो जनमत नै छैन । तर नेपाली जनता संघीयताप्रति निकै निराश छन् । बाहिर भन्न मात्रै नसकेका हुन् । सबै दललाई संघीयता घाँडो भएको छ ।

फरक प्रसङ्ग, चीन या रुसमा पानी पर्दा नेपालका कम्युनिस्टहरूले छाता ओढ्छन् भनिन्थ्यो, अहिले पनि त्यस्तै अवस्था छ कि छाता ओढ्न छाडे ?

अहिले रुसमा लेनिन र स्टालिनले बनाएको पार्टी खत्तम भएर पुुँजीवादी व्यवस्था छ । चीनमा पनि माओत्सेतुङले स्थापना गरेको पार्टी पनि पुुँजीवादी र साम्राज्यवादी पार्टीमा परिणत भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । सबै दर्शन र सिद्धान्तले यो धर्तीमा भएका सबै मानिसले खान, लाउन र सम्पत्ति उपभोग गर्न पाउनुपर्छ भन्नेमा जोड दिए । तर १९औँ शताब्दीमा आएको माक्र्सवादी सिद्धान्त वैज्ञानिक समाजवाद नै अन्तिम सिद्घान्त हो । यो धर्तीमा हुने र नहुनेबीचको लडाइँ निरन्तर चलिरहन्छ । त्यसलाई कसरी छिनोफानो गर्ने भन्ने सिद्धान्त नै वैज्ञानिक मार्क्सवाद हो ।

त्यसो भए अहिले नेपालका कम्युनिस्टले कसको छाता ओढ्छन् त ?
अहिले त पुँजीवादको छाता ओढेका छन् । नामचाहिँ सुब्बिनी के खाएर उभिने भनेजस्तै नामचाहिँ कम्युनिस्ट राखेका छन् ।

संसारभरका कम्युनिस्टहरू एक–अर्कालाई गद्दार भन्छन् । नेपालमा पनि पुष्पलाललाई मोहनविक्रम सिंहले गद्दार भनेकै हुन् । भर्खरै पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उहाँकै पार्टीको एउटा पङ्क्तिले गद्दार भन्यो । यो गद्दार भन्ने थेगो किन यति प्रचलित छ ?

गद्दार भन्ने शब्द राजनीतिक नै हो । त्यो मोहनविक्रमजीको मात्रै शब्द होइन । उहाँलाई दोष लगाइएको मात्रै हो । त्यतिबेला एउटा राजनीतिक विश्लेषण गर्दा अरु पनि सामेल थिए । त्यसलाई पछि सच्याएर मैले ‘क्रान्ति कि भ्रान्ति’ राख्नुपर्छ भने र त्यसलाई सच्च्याइयो । अहिले माधव नेपाललाई त्यसो भन्नु नितान्त अनुपयुक्त र अनावश्यक कुरा हो । एमालेका त सबैले नेता नेपालको प्रशंसा गर्नुपर्छ । ओलीलाई सच्याउन उहाँ तीन वर्षसम्म पार्टीमा लड्नुुभयो । ओली नसच्चिएर प्रतिगमनका लागि काम गरेपछि उहाँ त्यसविरुद्ध लाग्नुभयो । नेता नेपालले प्रतिनिधिसभा र संविधानको रक्षाका लागि ऐतिहासिक काम गरेका छन् । नेपाली जनताको पक्षमा काम भएको छ ।

अर्को प्रसङ्ग, हामीले राजनीतिक स्थिरता सुशासनका कुरा गरिरहँदा फेरि नेपालमा राजनीतिक अस्थिरता देखिएको छ । अब कसरी होला त स्थिरता ?

हामीले संविधानमा प्रतिनिधिसभाले पाँचै वर्ष काम गर्न पाउनुपर्छ भनेर व्यवस्था गरेका हौँ, अस्थिरता नहोस् भनेर । ओलीले त पार्टीभित्रको झगडा हुँदैमा संसद् विघटन गरिदिए । अब १६ महिना इन्द्रको बाबु चन्द्र आए पनि प्रतिनिधिसभा विघटन हुँदैन । प्रतिगमनलाई पराजित ग-यौँ । शेरबहादुर देउवाले त यसपाली प्रधानमन्त्री खान मानेकै थिएनन् । ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि ‘संसद् बचाउनुपर्छ, प्रतिपक्षी दलको नेता भनेको त वेटिङ प्रधानमन्त्री हो’ भनेर हामी चार दल देउवालाई प्रधानमन्त्री बनिदेऊन भनेर उनको घर गयौँ । बल्ल उनी राजी भए । यो पद देउवालाई आइलागेको हो । ओलीबाट प्रतिगमन भयो, देश बर्बाद भयो भनेर हामीले देउवालाई घोक्रो समातेपछि देउवा बल्ल प्रधानमन्त्री हुन राजी भएका हुन् । कांग्रेसजस्तो सजिलो प्रतिपक्ष ओलीले अब कहिल्यै पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?