काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा जनादेशकै प्रधानमन्त्री भएको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको विश्वास पाएका जनादेशको प्रधानमन्त्री भएको बताएका हुन् । १४६ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनस्र्थापित प्रतिनिधि सभाका १६५ जना सदस्यले विश्वासको मत दिएसँगै सरकार जनादेशको बनेको बताए ।
परमादेश भनेकै जनादेश भएको उनको भनाई छ । उनले भने– ‘यो परमादेश भनेको जनादेश नै हो । सर्वोच्चले परमादेश जारी गरेकोमा १६५ जना माननीयको समर्थन भयो । सर्वोच्च अदालतले गरेको निर्णय सही रहेछ भन्न प्रमाणित भयो नि । त्यसकारण म यहाँबाट ति पाँचजना श्रीमानहरुलाई स्यालुट गर्न चाहान्छु । जसले संविधान बचायो । जसले यो मुलुकको कानूनलाई, संसदलाई बचायो स्यालुट गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
रायमाझीले प्रधानमन्त्री देउवालाई संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपतिले नियुक्त गरेको पनि स्मरण गराए । प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाईसम्म नदिएको भन्दै उनले राष्ट्रपतिको व्यवहार खेदजनक रहेको टिप्पणी गरे । ओली नेतृत्वको सरकारले नागरिकको हक हितमा काम नगरी केवल यति होल्डिङ्सलाई बलियो बनाउने काम गरेको पनि उनले बताए । ओली नेतृत्वको सरकार आफ्नै कुकर्म र अकर्मण्यताका कारण ढलेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया