क्रियाशील सदस्यता वितरणमा धाँधली : जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनशन सुरू

जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस पार्टी कार्यालय धनुषास्थित जनकपुरधाममा पनि नेता कार्यकर्ताहरुले रिले अनशन सुरु गरेका छन् ।

काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनशनमा छन् ।

उनकै समर्थनमा जनकपुरधामस्थित पार्टी कार्यालयमा बुधबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अनशन सुरु गरिएको छ। तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको आरोप लगाएका छन्।

जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनुपर्ने र प्रक्रियाविपरीत वितरण गरिएको सदस्यता रद्द गर्नुपर्ने उनको माग रहेको छ । वडा सभापतिको जानकारीबिनै अन्य पार्टीबाट आएकालाई सदस्यता दिइएको उनले बताए ।

उनीहरूले पार्टीको १४औँ महाधिवेशनमा आफ्नो वर्चश्व देखाउन पार्टीको विधानविपरीत कार्य गरेको आरोप लागेको छ । धनुषामा १२ हजार क्रियाशील सदस्य छन् ।

१२ हजार सदस्य थप्ने पार्टीको संस्थागत निर्णय भए पनि ७ हजार मात्रै थपिएको छ । धनुषामा करिब १९ हजार क्रियाशील सदस्य रहेका छन् ।

पार्टी कार्यालयअगाडि ९ जना अनशनमा बसेका छन् । उनीहरुको नेतृत्व नेपाली कांग्रेसका नेता नबल किशोर यादवले गरिरहेका छन् । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा आफूहरु जिल्लामा अनशन सुरु गरेको यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?