काठमाडौं । राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले निजामती सेवा ऐन तुरुन्त अगाडि बढाउन सरकारसमक्ष आग्रह गरेका छन् ।
बिहीवार राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडि बढाउनको निम्ति सरकारसमक्ष आग्रह गरेका हुन् । उनले भने– ‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ । यसले प्रदेश निजामती ऐन अगाडि बढ्न पनि सकेको छैन । यसले प्रदेश सरकारहरुले काम अगाडि बढाउन सकेका छैनन् । प्रदेश लोकसेवा आयोगले पनि काम अगाडि बढाउन सकेको छैन । म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु, यो विधेयक तुरुन्त अगाडि बढाइयोस् ।’
त्यसैगरी राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले कोभिड र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिलाई कारण देखाएर विद्यार्थी, अपांग र जेष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडिएको भन्दै छुट पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘केही दिनयता संक्रमण बढ्दै जाँदा चिन्ताको विषय बनेको छ । बन्दाबन्दी केही खुकुलो भएपछि बजार र सार्वजनिक यातायात सुचारु हुन थालेका छन् । भीडभाड बढ्दै गएको छ । मास्क लगाउने हेलचेक्रयाइँ गरिदैँ छ । सार्वजनिक सवारीका साधनमा सेनिटाइजरको व्यवस्था भएको पाइँदैन, सार्वजनिक दूरीको त कुरै छोडौँ । विद्यार्थी, अपांग र जेष्ठ नागरिकले यातायातमा पाउने छुट बन्द गरिएको छ । पेट्रोलियम पद्धार्थ र कोभिडको कारण देखाएर नागरिकको अधिकार कुनै पनि हालतमा हनन गर्न हुँदैन यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’
सोही क्रममा उनले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएका कारण चिन्ता थपिएको पनि बताइन् । सार्वजनिक यातायात सुचारु भएसँगै भीडभाड बढेको र मास्क नलगाई हेलचेक्रयाइँ गरिएको भन्दै उनले सार्वजनिक सवारी साधनमा सेनिटाइजरको व्यवस्था नभएको पनि उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया