राष्ट्र बैंकसहित १५ बैंक ह्याक गरी पैसा चोर्ने धम्की : नडराउन आग्रह

लोकपथ
1.6k
Shares

काठमाडौं । ह्याकरहरुले अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएको छ ।

ह्याकरले नेपाल राष्ट्र बैंकलाई इमेलमार्फत राष्ट्र बैंकसहित विभिन्न १५ वटा वाणिज्य बैंक ह्याक गरी पैसा चोर्ने धम्की दिएको हो ।

राष्ट्र बैंकलाई यस्तो धक्की आएको खबर बाहिरीएपछि बैंकिङ क्षेत्र त्रसित बनेको छ । राष्ट्र बैंक स्रोतका अनुसार बुधवार दिउँसो साढे ३ बजे ह्याकरको इमेल आएको थियो ।

ह्याकरले राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंक ह्याक गरी पैसा चोर्ने धम्की दिएको जनाइएको छ । ह्याकरले २४ घण्टाभित्र अफलाइन तथा अनलाइन दुवै तरिकाबाट पैसा चोरी गर्ने जनाएको छ ।

ह्याकरको धम्कीपछि बैंकहरु त्रसित भइरहेका बेला राष्ट्र बैंकले अपवाह फैलाउन यस्तो धम्की दिएको जनाएको छ । ‘‘ धम्कीपूर्ण इमेल आएकै होइन, तर म्यासेजको टेक्स भाइरल भएको छ ।’’ राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले भने । यो अपवाह मात्रै भएकाले बैंकहरुलाई त्रसित नहुन उनले आग्रह गरे । ह्याकरको धक्की आएलगत्तै राष्ट्र बैंकले आफ्नो आइटी विभागलाई सक्रिय बनाएको छ । ह्याकरले ह्याक गर्ने भनिएका सम्पूर्ण बैंकहरुको प्रणाली पनि राष्ट्र बैंकले परीक्षण गरिसकेको छ । ‘‘हाम्रो प्रणालीमा कुनै पनि समस्या छैन,डराउनुपर्ने अवस्था छैन ।’’ सहप्रवक्ता पोखरेलले भने ।

राष्ट्र बैंकले आज बिहान पनि आफ्नो बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरुको समेत प्रणाली चेक गरिरहेको जनाएको छ । प्रणालीमा कुनै समस्या आउन नदिन राष्ट्र बैंकले पूर्णरुपमा तयारी गरेको छ । ‘‘हाम्रो आइटी विभागले काम गरिरहेको छ,आत्तिनुपर्ने अवस्था छैन ।’’ पोखरेलले भने ।

बैंकिङ क्षेत्रले प्रणाली बलियो बनाएको भन्दै ह्याकरले सजिलै डाटा ह्याक गर्न नसक्ने राष्ट्र बैंकको दाबी छ । साथै राष्ट्र बैंकको आइटी विभाग तथा ह्याक गरिने भनिएका बैंकहरुको प्रणाली पनि पूर्णरुपमा सुरक्षित बनाइएकाले डराउनुपर्ने अवस्था नभएको सहप्रवक्ता पोखरेलले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?