सातदोबाटो युथ क्लब र एनआरटीले एकेडेमी सञ्चालन गर्ने

काठमाडौं। शहीद स्मारक ए-डिभिजन लिगका दुई क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी)ले फुटबल एकेडेमी सञ्चालन गर्ने भएका छन्।

युवा फुटबललाई विकास गर्ने उद्देश्यले यी दुई क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्न लागेका हुन्। सातदोबाटो युथ क्लबले लिटल एन्जल्स स्कुल र एनआरटीले ल्याबोरेटरी स्कुलसँग एकेडेमी सञ्चालन गर्ने विषयमा सम्झौता गरेका छन्।

बुधवार सातदोबाटोस्थित अखिल नेपालले फुटबल संघ (एन्फा)को कार्यालयमा क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार पहिलो वर्ष १४ खेलाडीले क्लबसँग अभ्यास गर्नेछन् भने ती युवा खेलाडीलाई छात्रवृत्ति भने स्कुलहरुले प्रदान गर्नेछन्। त्यस्तै दोस्रो वर्ष खेलाडी संख्या १४ बाट बढाएर २१ बनाइने छ।

सातदोबाटो र एनआरटी अघि संकटा क्लबले पनि नेक्सस स्कुलसंग मिलेर एकेडेमी सञ्चालन गर्दै आएको छ। त्यस्तै नेपालका तीन विभागीय टोली, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि युथ एकेडेमी सञ्चालन गर्दै आएका छन्।

 

तस्वीर :एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?