यस्ता छन्, माधव नेपाल पक्षको स्थायी कमिटीले गरेका निर्णयहरु

काठमाडौं । माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा नै जोड दिने निर्णय गरेको छ । बुधबार बानेश्वरमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो ।

नेपाल समूहका नेता रघुजी पन्तले दिएको जानकारी अनुसार आजको बैठकमा सबैले पार्टी एकतामा जोड दिएका थिए । साथै एकता वार्ता चलिरहेको र १० बुंदे सुझाव कार्यान्वयनको चरणमा रहेको अवस्थामा २२ जनाविरुद्ध स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता नेपालविरुद्ध नारावाजी गर्दै पुत्ला जलाउने काम भएको भन्दै बैठकले आपत्तिसमेत जनाएको छ ।

संविधानको रक्षाका लागि विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदमाथि सोधिएको स्पष्टीकरणविरुद्ध आजको बैठक उभिएको छ । साथै यस्ता गतिविधिलाई तत्काल रोकेर एकता प्रक्रिया अगाडि बढाउन पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष माग समेत गरेको छ ।

आजको स्थायी कमिटीको बैठकमा पार्टी उपाध्यक्ष भीम रावल अनुपस्थित भएको विषयमा नेता पन्तले अनविज्ञता जनाए । वरिष्ठ नेता नेपालले बैठकमा आमन्त्रित गरेको भएपनि रावल उपस्थित नभएको उनको भनाइ छ ।

विवेकको मत प्रयोग गरेको नाममा २२ जना सांसदलाई स्पष्टीकरण सोध्नुले पार्टी एकतामा भाँजो हाल्ने काम भएको नेता पन्तको भनाइ छ । बुधबार ललितपुरमा बसेकाे केन्द्रीय कमिटीकाे बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?