पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया विजयी, वेस्ट इन्डिजको खराब ब्याटिङ

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा १३३ रनको विशाल जित दर्ता गरेको छ।

बार्बाडोसको ब्रिजटाउनमा खेलिएको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। साविक कप्तान आरोन फिन्च बिना नै मैदानमा उत्रेको अष्ट्रेलियाका लागि यस शृंखलाका कप्तान तथा विकेट किपर एलेक्स केरीले सर्वाधिक ६७ रन बनाएका थिए।

त्यस्तै एश्टन टर्नरले ४९ रन बनाउँदा दुई डेब्यू खेलाडी जोश फिलिप र बेन मेक्डेर्मण्टले क्रमशः ३९ र २८ रन बनाएका थिए। ‘डि/एल’ नियमले ४९ ओभरमा झारिएको खेलमा अस्ट्रेलियाले ९ विकेट गुमाएर २५२ रनको योगफल तयार गर्न सफल भएको थियो। खेलमा वेस्ट इन्डिजका बलर हेडन वाल्शले सर्वाधिक ५ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा २५३ रन पछ्याउने क्रममा वेस्ट इन्डिजले निकै खराब शुरुवात गर्यौ। इनिङको पहिलो बलमा नै ओपनर एविन लुइस पविलियन फर्किएका थिए। त्यस्तै अन्य सबै ब्याट्सम्यानले खराब प्रदर्शनी गर्दा कप्तान केरन पोलार्डले सर्वाधिक ५६ रन बनाउन सफल भएका थिए।

वेस्ट इन्डिजलाई १२३ रनको सामान्य योगफलमा अलआउट गर्ने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिएका थिए। त्यस्तै अर्का तिब्र गतिका बलर जोश हेजलवुडले ३ विकेट लिन सफल भएका थिए। खेलमा स्टार्क ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?