धनगढी जलमग्न : पानी निकासको विवाद झडपमा परिणत

लोकपथ
442
Shares

शेरबहादुर ऐर, धनगढी । मंगलवार विहानैदेखि वडा नम्बर २ का स्थानीय ३ नम्बरबाट बग्दै आएको पानीलाई रोक्न कल्र्भटलाई थुन्दै थिए । वडा नम्बर ३ का स्थानीय भने कल्र्भट खोली पानीलाई निकास दिनुपर्छ भनी एकआपसमा विवाद गरिरहेका थिए । विहानैदेखि वडा नम्बर २ का स्थानीयहरुले पानी निकास हुन दिएका थिएनन ।

दिउँसो प्रहरीले बल प्रयोग गरि पानी निकास गराउने प्रयास गर्दा झडप भएको थियो । स्थानीय र प्रहरीबिच झडप हुँदा नेपाल प्रहरीका चार र शशस्त्र प्रहरी बलका छ जना गरी १० जना सुरक्षाकर्मी घाइते भएको कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टले बताए ।

उनले प्रहरीले शनिबारदेखिनै पानी निकासका लागि पहल गरिरहेको बताए । उनले भने, ‘शनिवारदेखि प्रहरीले पानी निकास गराउन बल प्रयोग गरिरहेको छ । तर, हामीले कल्र्भट खोलेको केहीबेर पछि स्थानीयहरुले पुनः थुन्ने गरेका छन ।’

उनले मंगलवार पनि पानी निकास नभएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रयोग गर्नु परेको बताए । उनले स्थानीयहरुले ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु घाइते भएको बताए ।

स्थानीयहरुले डोजर लगाएर कल्र्भटलाई पुर्न खोजेपछि अहिले प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
लगातारको वर्षाले नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रसमेत डुबानमा परेको छ । धनगढी वितरण केन्द्रअघिको डुबानको निकास नखोले धनगढीमा ब्ल्याक आउट हुने सक्ने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार कार्यालय डुबानमा पर्दा स्टकमा राखिएका विधुतीय सामाग्रीमा क्षति पुगेको बताए । सबस्टेशनसमेत जलमग्न भएका कारण केबल ट्रेन्चमा पानी पसेको छ ।

‘ट्रेन्चमा पानी पसेर लिकेज भए ट्रेन्च भत्किने सम्भावना छ । केबलमा समस्या आए सब स्टेसनबाट विद्युतको आपूर्ति रोकिन्छ,’ चौधरीले भने, ‘विद्युत प्रवाह गर्न लामो समय लाग्छ । धनगढीमा ब्लाक आउट हुन सक्छ ।’ उनले पानी निकास खोल्न सबैसँग अनुरोध गरेपनि निकास नखुलेको बताए ।

शनिवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रपसाद रिजालको अध्यक्षतामा धनगढी उपमहानगरपालिका नगर प्रमुखसहितको छलफलले विद्युत कार्यालय जलमग्न हुन लागेपछि डोजर लगाउने निर्णय गरेको थियो ।

सोही निर्णयपछि उपमहानगरपालिकाको डोजरले थुनिएको कल्र्भटलाई खोल्ने प्रयास गरेको थियो । धनगढी उपमहानगरपालिकाले बल प्रयोग गरि डोजर लगाउन लागेपछि स्थानीयहरु आन्दोलित भएका थिए । धनगढी नगर प्रमुखले कल्र्भट खोल्न डोजर पठाए लगत्तै आफु काठमाडौ गएका छन । अहिले दुई वडाबिचका स्थानीय एकआपसमा विवाद गर्दा पनि स्थानीय जनप्रतिनिधीहरु मौन रहेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले विवाद मिलाउन पहल भइरहेको बताए ।

धनगढीकी उपप्रमुख शुशिला मिश्र भट्टले भने यस विषयमा कुनै पनि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन मानेकी छैनन् ।
अहिले पानी निकास भएपछि वडा नम्बर २ का केही घरभित्रै पानी पसेको छ । स्थानियहरू सडकमै छन् ।

हरेक वर्ष समस्या उही

गत वर्ष धनगढीको वडा नम्बर ३ गत वर्ष पनि डुवानमा परेको थियो । वडा नम्बर २ वाट निकास खोज्दा स्थानीयहरु आन्दोलित भएका थिए ।

वर्षभरी चुप लागेर बस्ने धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का बासिन्दा जव वर्षा शुरु हुन थाल्छ, तव सडकमा निस्किन्छन । वर्षाको पानीले वस्ती नै डुबानमा पर्न थालेपछि वडा नम्बर ३ का बासिन्दा पानीको निकासका लागि सडकमा निस्किन्छन । वडा नम्बर २ का बासिन्दा भने पानीको निकासमा अवरोध सृजना गर्न निस्किन्छन ।

आफ्नो वस्ती डुबान हुन नदिन वडा नम्बर २ का बासिन्दाले पानीको निकास बन्द गरिदिन्छन । त्यतिबेलासम्म वडा नम्बर ३ जलमग्न भईसकेको हुन्छ । वर्षाको पानीको घरभित्र पस्न थालेपछि आत्तिदै वडा नम्बरका बासिन्दा पानीको निकास खोल्न सडकमा निस्किन्छन । र, पानीको निकास खोल्ने र बन्द गर्न खोज्ने दुई पक्षबीच शुरु हुन्छ, संघर्ष । यो संघर्षमा वडाअध्यक्ष बाडिन्छन ।

यो संघर्षकाबीच अप्रिय घट्ना नहोस भनेर उपमहानगरपालिकाको आग्रहमा प्रशासनले सुरक्षाकर्मीहरु परिचालन गर्छ । बेलाबेला दुई पक्षबीच झडप पनि हुन्छ । यो क्रम केही वर्षयता जारी छ ।

डुबान क्षेत्रमा वस्ती, पानीको निकास हुने ठाउमा सडक निर्माण गरेपछि समस्या सृजना भइरहेको स्थानीयहरु बताउँछन् ।
नाली अतिक्रमण गरी घर निर्माण, अव्यवस्थित विकास र ईञ्जिनियरिङका कारण केही वडा डुवानमा पर्न लागेका छन ।
पानीको निकास हुने ठाउँमा सडक बनाईएको छ । ढलहरु पानीको सतहभन्दा माथि निर्माण गरिएका छन् । जसका कारण पानी ढलमा होईन, सडकमा बग्छ । पानीको निकास हुने ठाउँमा पक्की संरचना निर्माण हुदा र क्रमशः पानी निकास हुने ठाउँहरु बन्द भईरहदा चुप लागेर बस्ने उपमहानगरपालिका नै यी समस्याको मुख्य कारक रहेको स्थानीयहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?