तौल घटाउन चाहनु हुन्छ भने यस्तो गर्नुस् डाइट

लोकपथ
455
Shares

अनावश्यक रूपमा बढेको तौललाई घटाउन को चाहँदैन र ! मोटो शरीरलाई घटाउन चाहनेहरूलाई अहिले धेरै किसिमका उपायहरू पनि रहेका छन् ।

मोटोपनलाई कम गर्न कसरत देखि योग, साइक्लिङ देखि स्विमिङ, एरोबिक देखि जुमासम्म रहेको छ । यो बाहेक आफूले गर्ने खानपिनको शैलीमा परिवर्तन गरेर पनि मोटोपनलाई कम गर्न सकिने उपायहरू रहेको छ ।

कहिले काँही यी सबै कुरालाई आफ्नो जीवन शैलीमा अपनाउँदा पनि कतिपयको मोटोपन कम भइरहेको हुदैंन । तौल घटाउने विभिन्न उपायहरू मध्ये व्यवस्थित रूपमा खानेकुराको सेवन गरेर पनि तौल घटाउन मिल्ने डाइटिसियनहरुको तर्क रहेको छ । मोटोपन भएका व्यक्तिहरू कसरत गर्ने नाममा लामो समय हिड्डुल गर्न सक्दैनन् भने कतिपयले चाहेर पनि कसरत गर्न सक्दैनन् । शारीरिक अभ्यास केही समय गरेमा मुटु र हड्डीमा बढी दबाब पर्ने गर्छ ।

अहिले कोरोना सङ्क्रमणको अवस्था रहेको कारण मोटोपन घटाउन मानिसहरू चाहेर पनि जिम जान र बाहिर गएर एक्सरसाइज गर्न सक्ने अवस्था रहेको छैन । यस्तो अवस्था आफ्नो खानपिनमा परिवर्तन गरेर मोटोपन घटाउनु नै सबैभन्दा श्रेष्ठ कर उपाय देखिएको छ ।

हेल्थ एक्सपर्टहरूका अनुसार हामीले गर्ने खानपिनकै कारण मोटोपन बढ्नुमा ७० प्रतिशत भन्दा बढी भूमिका रहेको हुन्छ । त्यसैले हामीले हाम्रो खानपिन शैलीमा परिवर्तन गरेमा पनि मोटोपनलाई धेरै हदसम्म कम गर्न सकिन्छ भन्ने रहेको छ । खानेकुराको डाइटलाई सन्तुलन गरेर मोटोपनलाई घटाउँदा शरीरमा कुनै किसिमको हानी नहुने उनीहरूको तर्क रहेको छ ।

मोटोपन घटाउन चाहने व्यक्तिले आफ्नो खानामा प्रोटिन र फाइबरको मात्रालाई अत्यधिक समावेश गर्नुपर्छ । मोटोपन भएका व्यक्तिले आफ्नो खानामा मकै, जौ, दलिया, जुनेलो, खैरो चामलको सेवन गर्नुपर्छ । यो बाहेक आफ्नो खानामा मुङ, चना, रहर र मुसुरो दालको पनि सेवन गरेमा तौल घटाउन मद्दत गर्छ ।
तौल घटाउन चाहने व्यक्तिले आफ्नो खानपानमा तरकारीहरूमा तिते करेला, सजियोन, लौका, परवर, घिरौँला, फर्सी र हरियो तरकारीहरूलाई नियमित समावेश गर्नुपर्छ ।

मोटोपन घटाउने फलफूलहरूमा अङ्गुर, स्याउ, अनार, मेवा, सुन्तला लगायत अमिलो किसिमका फलहरूको सेवन गर्नुपर्छ । मोटोपन कम गर्न अमला, मोही, तातो पानी, गुर्जो, इलाईचीलाई आफ्नो खानपानमा समावेश गर्दा तौल घटाउन मद्दत गर्छ ।

यदि मोटोपन धेरै नै छ भने आफ्नो नियमित खानपिनमा भात, गहुँ र चनाको सेवन कमै गर्नुपर्छ ।

फलफूलमा केरा, तरबुजा लगायत गुलियो फलहरूको कमै सेवन गर्नुपर्छ ।

तरकारीमा आलु, कटहर, पिँडालुको सेवन सकभर नगरेकै राम्रो ।

मोटोपनलाई कम गर्ने सोचाइमा हुनुहुन्छ भने तेलमा तारेको चिल्लो खानेकुरा, धेरै नुन, कोल्ड ड्रिंक्स, बेकरी र जङ्क खानेकुराहरू सकभर नखाएकै राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?