एमाले सांसदको प्रश्न : विवेकको मत प्रयोग गरेका हौँ, देशद्रोह गरेको हो र पार्टीले कारबाही गर्न ?

लोकपथ
868
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको संस्थापन पक्षमा लामो समयसम्म रहेका सांसदहरुले व्यवस्था जोगाउन शेरबहादुर देउवालाई विश्वासको मत दिन बाध्य भएको बताएका छन् ।

खासगरी एमालेको संस्थापन अर्थात् अध्यक्ष ओली पक्षमा लामो समयदेखि सहकार्य गर्दै आएका सांसदहरुले नै त्यस्तो बताएका हुन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । विश्वासको मत लिने क्रममा उनको पक्षमा १ सय ६५ जना उभिएका थिए भने विपक्षमा ८३ जना उभिएका थिए । विश्वासको मत लिँदा कुल उपस्थित संख्या २ सय ४९ रहेको थियो भने १ जना तटस्त बसेका थिए । देउवालाई विश्वासको मत दिने क्रममा लामो समयदेखि नेकपा एमालेको ओली समूहमा रहेका आठ जना सांसदहरु पनि सहभागी भएका थिए । जब कि देउवाको विपक्षमा उभिने ८३ जना सबै एमालेको ओली समूहका थिए ।

शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली पक्षका सांसदहरुमा पूर्व वन मन्त्री प्रेम आलेसहित सांसदहरु विनादेवी बुढाथोकी, समिना हुसेन, हिराचन्द्र केसी, पार्वती विशुन्खे, धनबहादुर बुढा, कृष्णकुमार श्रेष्ठ र गोपालबहादुर बम रहेका छन् । लामो समयदेखि पार्टी अध्यक्ष ओलीको छत्रछाँयामा रहँदै आएका आठ जना सांसदहरुले एकाएक किन विपक्षी गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए भन्ने चासोको विषय बनेको छ । पार्टीको निर्णय मान्दा प्रतिनिधि सभा पुनः विघटन गर्नुपर्ने अवस्था आउने भएकाले आफूहरुले विवेकको मत प्रयोग गरेको ओली पक्षका सांसदहरु बताउँछन् ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने ओली पक्षका सांसद हिराचन्द्र केसी भन्छन्–‘संसदलाई हठात रुपमा अन्त्य गर्ने काम निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । जस्लाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो । त्यसैले सर्वोच्चले गरेको व्याख्या अनुसार नै संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सांसदहरुले विवेकको मत दिन स्वतन्त्र हुन्छन् भने अनुसार नै व्यवस्था बचाउन शेरबहादुर देउवालाई विश्वासको मत दिएका हौँ ।’

नेकपा एमालेको स्थायी कमिटीको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । साथै पार्टीको निर्णयको विरुद्धमा जाने एमाले हुन नसक्ने बताइएको थियो । पार्टीको यति कठोर निर्णयलाई उल्लंघन गरेर किन देउवालाई विश्वासको मत दिनुभयो भन्ने लोकपथको प्रश्नमा सांसद केसी भन्छन्–‘अहिले एमाले पार्टी भन्दा पनि दुई गुट रहेको छ । एउटा ओली गुट र अर्को नेपाल गुट । नेकपा एमाले हुनका लागि वि.सं २०७५ जेट २ मा फर्किनुपर्छ । अन्यथा पार्टीको निर्णय भन्दा पनि गुट र समूह कै निर्णय हुन्छ । गुटको निर्णय नमान्दा पार्टीको निर्णय उल्लंघन हुँदैन । ’

त्यस्तै अर्की नेतृ पार्वतीकुमारी विशुन्खे पनि संविधानको कार्यान्वयन गर्दै व्यवस्था बचाउनका लागि शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताउँछिन् । गत पुस ५ गते निर्वतमान प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गर्नु, दोस्रो पटक जेठ ८ गते गरेको विघटनलाई पनि सर्वोच्च अदालतले पुनः असार २८ गते खारेज गरिदिएकाले अब पनि प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था नआओस् भनेर देउवालाई विश्वासको मत दिन बाध्य भएको उनको भनाइ छ । सर्वोच्च अदालतको व्याख्या अनुसार देउवालाई विश्वासको मत दिएकै आधारमा पार्टीले कारबाही गर्न नसक्ने उनको जिकिर छ ।

‘संविधान र व्यवस्था बचाउनका लागि सम्माननीय सर्वोच्च अदालतको व्याख्या अनुसार विवेकको मत प्रयोग गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिएका हौँ’–उनले भनिन्–‘भ्रष्टाचार, देशद्रोह गरेको हो र पार्टीले कारबाही गर्नलाई सर्वोच्चको व्याख्याको पालना गर्दा पनि पार्टीले कारबाही गर्न मिल्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?