प्रचण्डलाई ‘सुरक्षा थ्रेट’ कोबाट ? डीएसपीको नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिए

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ ।

गत शनिवारबाट ‘प्रचण्ड’को सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्दै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयले डीएसपी विनोद घिमिरेको नेतृत्वमा १० जना सुरक्षाकर्मी खटाएको छ ।

सुरक्षा सेवा निर्देशनालयले चार दिनअघि गृहको परिपत्र कार्यान्वयन गर्दै घिमिरेको नेतृत्वमा सुरक्षाकर्मी खटाएको जनाएको छ ।

उनको सुरक्षामा अब डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ । यो सुरक्षा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी हो ।

प्रचण्डलाई सुरक्षा थ्रेट ?

‘सुरक्षा थ्रेट’ का नाममा देशले पूर्व पदाधिकारीहरुलाई सुरक्षा उपलब्ध गराउँदै आएको छ । १० वर्ष सशस्त्र सशस्त्र संघर्ष गरेर आएका प्रचण्डलाई शान्ति प्रक्रियामा आएपछि सुरक्षा थ्रेट हुनु अस्वभाविक होइन ।

तर पूर्वविशिष्ट व्यक्तिहरूले आफूखुसी सुरक्षाकर्मी लिएर घरायसी कामहरु गर्न लगाएको भन्दै गृह मन्त्रालयले केही महिनाअघि मात्रै विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो । जसको परिणामस्वरुप धेरै नेताहरूको पछुवा भएर हिँड्ने सुरक्षाकर्मी फिर्ता भएका थिए ।

सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जना मात्र सुरक्षाकर्मी दिइने उल्लेख छ ।

यस्तो छ ‘सुरक्षा थ्रेट’ को प्रावधान

विशिष्ट व्यक्तिको ‘सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै गृह मन्त्रालयमा चुनौती मूल्यांकन समिति रहेको छ । उक्त समितिले सुरक्षा चुनौतीबारे केन्द्रीय सुरक्षा समितिलाई प्रतिवेदन बुझाउनुपर्छ । सुरक्षा समितिको सल्लाहपछि मन्त्रीस्तरीय निर्णय गरी सुरक्षाकर्मी बढाउने घटाउने निर्णय हुने व्यवस्था रहेको छ ।

प्रत्येक तीन महिनामा सुरक्षा चुनौती मूल्यांकन हुनेगरेको छ । मूल्यांकनअनुसार नै सुरक्षा बढाउने घटाउने काम गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?