मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारीमा नोबेल शिक्षण अस्पताल

लोकपथ
133
Shares

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।

स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइसकेकाले नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो ।

नोबेलले मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ । मृगौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । ‘मेनपावर, इन्फास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा सुरु हुन्छ’, डा.श्रेष्ठले भने ।

मृगौला प्रत्यारोपणका लागि डा.श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ । मृगौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ । अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । उनी भन्छन्, ‘सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि यही महिनाबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मृगौला प्रत्यारोपण गर्न थाल्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?