यसकारण विप्लव दौडिरहेका छन्

appharu
663
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले पछिल्लो समय दौडधूप बढाएका छन् । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्हिगमन भएसँगै महासचिव विप्लवले दौडधूप बढाएका हुन् ।

पछिल्लो समय नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग महासचिव विप्लवले भेटवार्ता गरेका छन् । विप्लव र पूर्वमाओवादी केन्द्रका नेताहरु बीच लेखराज भट्टको निवासमा आइतबार भेटवार्ता भएको हो । भेटवार्तामा नेता भट्टसहित टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा समेत सहभागी भएका थिए ।

त्यस्तै नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग भेटवार्ता गरिसकेका छन् । साथै नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व सम्हाल्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत भेटवार्ता गरेका छन् ।

गत फागुन २१ मा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह ) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमति पत्रमा राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने जनाइएको थियो । साथै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेज गर्ने लगायतका विषय समेटिएको थियो । तर अहिले ओली निर्वतमान प्रधानमन्त्री भइसकेका छन् । प्रधानमन्त्री ओलीको बर्हिगमन भएसँगै बढेको उनको दौडधूपलाई लिएर विभिन्न खालका टीकाटिप्पणी सुरु भएका छन् ।

कतिपयले विप्लव पूर्व कम्युनिष्टहरुलाई एक ठाउँमा उभ्याउने कसरतमा लागेको बताइरहेका छन् भने कतिपयले निर्वतमान प्रधानमन्त्री ओलीसँग गरेको सहमतिलाई कार्यान्वयन गराउने कसरतका रुपमा बुझेका छन् । नेकपा माओवादी केन्द्रका नेताहरु महासचिव विप्लवको दौडधूपलाई अस्वभाविक रुपमा लिन नहुनेमा जोड दिन्छन । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेल सशस्त्र विद्रोह गरेको पार्टी शान्ति प्रक्रियामा आइसकेकाले राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् ।

उनले भने,”उहाँहरु खुल्ला राजनीतिमा आइसक्नु भएको छ । राजनीतिक दलका नेताहरुसँग सम्वाद बढाउनु अस्वभाविक होइन ।” अर्कोतर्फ तत्कालीन सरकारसँग गरिएको सहमतिलाई कार्यान्वयन गराउनका लागि पनि भेटघाटलाई तीव्रता दिइएको हुन सक्ने उनको बुझाइ छ । कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनु आफैमा सकारात्मक पक्ष भए पनि महासचिव विप्लवकै सक्रियतामा सम्भव नदेखिएको उनको भनाइ छ ।

“उहाँहरुका कतिपय साथीहरु अझै पनि थुनामा हुनुहुन्छ । हिजो उहाँहरुले प्रधानमन्त्री ओलीसँग सहमति गर्नुभएको थियो । जुन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैलाई कार्यान्वयन गराउन पनि महासचिव विप्लवको दौडधूप बढेको हुन सक्छ ।,” उनले भने, “सम्पूर्ण कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनु आफैमा सकारात्मक पक्ष हो । तर महासचिव विप्लवकै सक्रियतामा बृहत पार्टी बनाउन त्यति सम्भव नहोला ।”

त्यस्तै अर्का नेता हितबहादुर तामाङ ओलीले नेतृत्व गरिरहेको सरकारसँग भएका सहमतिलाई व्यक्ति व्यक्ति बीच भएको सम्झौताका रुपमा प्रचार गरिए पनि सरकारले गरेको सम्झौता सरकारले नै कार्यान्वय गर्नुपर्ने भएकाले दौडधूप बढेको बताउँछन् ।

ओलीको बर्हिगमनपछि बनेको सरकारमा माओवादी केन्द्र पनि सहभागी भएकाले आफ्ना माग सम्बोधन गराउनका लागि पूर्वसहकर्मीहरुसँग छलफल बढाएको हुन सक्ने उनको भनाइ छ ।

उनले भने,”हिजो केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमतिलाई दुई व्यक्ति बीच भएको सहमति जसरी व्याख्या र प्रचार गरिएको थियो । तर त्यो व्यक्ति व्यक्ति बीच नभएर सरकारसँग गरिएको सहमति थियो । सरकारसँग गरिएको सहमति सरकारले नै कार्यान्वयन गर्ने भएकाले दौडधूप बढेको हुन सक्छ ।”

त्यस्तैगरी कम्युनिष्ट पार्टीहरु मिलेर एक ठाउँमा आउनुपर्छ भन्ने सन्देश दिन पनि दौडधूप बढाएको हुन सक्ने उनी बताउँछन् । उनले भने–‘स–साना पार्टीलाई एक ठाउँमा ल्याउनलाई पनि उहाँको दौडधूप बढेको हुन सक्छ । टुटफुटमा रुमलिएका पार्टीलाई एकीकृत गर्न नसकेपनि सुरुआत मात्रै भएपनि गर्न विप्लव कमरेडको दौडधूप बढेको होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?