काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सोमवार (आज) बसेको केन्द्रीय कमिटीको १० औँ बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदविरुद्ध २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै संविधानको धारा ७६(५) बमोजिम स्वतन्त्र रुपमा आफ्नो मत दिन पाउने फैसला गरेको थियो ।
सर्वोच्चको फैसला अनुसार विश्वासको मत दिँदा पार्टीले कारबाही गर्न नसक्ने फैसला गरेपनि एमालेले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने जनाएको छ । उक्त निर्णयलाई लिएर यतिबेला आम चासो बढेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य कर्ण थापा सर्वोच्च अदालतको निर्णयले प्रतिनिधि सभामा विश्वासको मत दिने सांसदहरुलाई संसदको सदस्यबाट हटाउन नसक्ने भएपनि पार्टीको जिम्मेवारीबाट हटाउन कुनै रोकावट नहुने बताउँछन् ।
उनले भने–”सर्वोच्च अदालतको फैसला अनुसार संविधानको धारा ७६ को उपधारा (५) अनुसार विश्वासको मत दिँदा संसद सदस्यबाट हटाउन नसकिने हो । तर पार्टीको अनुशासन उल्लंघन गर्नेलाई स्पष्टिकरण सोध्न रोक्दैन ।”
आइतवार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएका थिए । आज बसेको बैठकले ती सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया