एमाले बैठक : भोलि पनि बस्ने, के-के भयो निर्णय ?

लोकपथ
518
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सोमवार (आज) ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै मंगलवार पुनः बस्ने भएको हो ।

बैठकबारे जानकारी दिँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्दै आइतवार प्रतिनिधि सभामा भएको घटनालाई गम्भीर रुपमा व्याख्या गरेका थिए । अध्यक्ष ओलीको भनाइलाई उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले भने–‘बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा चर्चा गर्नुभयो । विशेष गरी आइतवार शेरबहादुर देउवाले विश्वास मत लिने क्रममा प्रतिनिधि सभामा देखिएको परिदृष्य र त्यसले नेकपा एमालेको आन्तरिक जीवनमा परेको प्रभावका बारेमा उहाँ केन्द्रीय हुनुभएको थियो ।’

सोमवारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना विरुद्ध २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

२४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रवक्ता ज्ञवालीको भनाइ छ । साथै नेकपा एमालेको आन्तरिक विवाद समाधान कार्यदलले दिएको १० बुँदे सुझावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको छ । केही दिन अगाडि बसेको स्थायी कमिटीको बैठकले समेत उक्त सुझावलाई अनुमोदन गरेको थियो ।

पार्टीको आन्तरिक एकताका लागि १० बुँदे प्रस्ताव अनुसार आज केन्द्रीय कमिटीको १० औँ बैठक राखिएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?