काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका – ७, दोलखा घर भएका १९ वर्षीय विज्ञान भुजेललाई महाशाखाले नियन्त्रणमा लिएको हो।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
उक्त मोटरसाइकल हिजो आइतवार विहान साढे ८ बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए ।
चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको खटिएको टोलीले सोही दिन दिउँसो ३ बजे नै उक्त मोटरसाईकलसहित भुजेललाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए।
नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकलसमेत कौशलटारबाट बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया