थुनुवाको चापले नै कारागार अस्तव्यस्त

लोकपथ
70
Shares

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ । जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने छ ।

कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर ठहर गरी फैसला गरेअनुरुप सजाय काटी रहेका) छन् । यद्यपि थुनुवाको सङ्ख्या ३४० छ । तीमध्ये पाँच आश्रित बालबालिकासहित ३६ महिला र ३०४ जना पुरुष छन् ।

न्यायिक निकायले दैनिकजसो पठाउने थुनुवा अब कारागारले थेग्नै नसक्ने बनेको कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्र बताउँछन् । थुनुवा सङ्ख्या निकै बढेपछि धनुषा जिल्लाका न्यायिक निकायलाई अब अन्यत्र कारागारमा व्यवस्था गर्न अनुरोध गरिएको कारागार प्रशासनले जनाएको छ । धनुषामा कारागार नहुँदा मुख्य चाप नै त्यहाँको हुने गरेको मिश्रको भनाइ छ ।

“हाम्रो अनुरोधले केही दिनयतादेखि धनुषाका पुरुष थुनुवा आउन छाडेका छन्”, कारागार प्रमुख मिश्रले भने, “यसले पछिल्लो एक महिनाभित्र क्रमशः थुनुवा घट्दै गएका छन् ।” गत जेठसम्म लगभग ६०० पुगेको सङ्ख्या अहिले घटेर ५६१ मा झरेको मिश्रको भनाइ छ । कारागारमा फैसला ठीक समय (मुद्दा दर्ता भएको दुई वर्षभित्र) मा नहुँदा पाँच वर्षदेखि पुर्पक्ष क्रममा रहेका थुनुवाको सङ्ख्या उल्लेख्य रहेको कारागार प्रशासनले जनाएको छ । “पुराना मुद्दा समय तालिकाभित्र फैसला नहुने र पुर्पक्ष क्रममा दिनहुँ मान्छे पठाउँदै गर्ने न्यायिक निकायको आदेशले असजिलो बढाएको छ”, मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?