काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले संविधानको रक्षार्थ वाम प्रजातान्त्रिक शक्तिहरुलाई मिलेर अघि बढन आह्वान गरेका छन्।
आइतवार राष्ट्रिय सभाको नवौं अधिवेशनको बैठकमा बोल्दै उनले गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको मूल मर्ममाथि प्रहार गरेको दावी गर्दै त्यसको रक्षार्थ वाम प्रजातान्त्रिक शक्तिहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको बताए।
सांसद प्याकुरेलले भने,“सबैभन्दा ठूलो जन आधारित तथा जन समर्थित पार्टीको नाताले संसददेखि जनतासम्म सर्वोच्च अदालतको फैैसलाले निम्त्याउने भयावह अवस्थाप्रति सचेत गराउँदै हामी अघि बढनेछौं । वामप्रजातान्त्रिक शक्तिहरुबीचको न्यूनतम समझदारी खलबलिन नदिइ संविधानको रक्षार्थ अघि बढन हार्दिक अपिल गर्दछु ।”
सांसद प्याकुरेलले आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारे । “हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौं ।” उनले भने, “वर्तमान सरकारले जनताको पक्षमा गर्ने असल र राम्रो कामहरुको समर्थन गर्नेछौं भने जनविरोधी कामहरुको भण्डाफोर गर्ने, मात्रै होइन् त्यस्ता काम हुनै नदिने प्रयास गर्नेछौं ।”
सांसद प्याकुरेलले विधिको शासन मान्ने दल भएकाले मात्रै आफ्नो पार्टीले सर्वोच्च अदालतको सो फैैसलालाई मानेर अघि बढेको पनि बताए । जनादेशबाट बनेको सरकारलाई अदालतको परमादेशले हटाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया