वैकल्पिक भारतीय टोलीविरुद्ध अस्थिर श्रीलंका

काठमाडौं। गत वर्षदेखि क्रिकेटमा देखिएको मुख्य समस्या हो समय र खेल तालिका। श्रीलंका भ्रमणमा रहेको भारतीय टोलीमा पनि सोही कुरा देखिएको छ।

भारतले आज श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ। तीन एकदिवसीय तथा तीन टी-ट्वेन्टी खेलको शृंखला खेल्न श्रीलंका भ्रमणमा रहेको भारतीय टोलीका कप्तान रहनेछन् शिखर धवन। हो, भारतको यो पहिलो रोजाईको टोली होइन। पहिलो रोजाईका खेलाडी इङ्ल्यान्ड भ्रमणमा रहेका छन्।

पछिल्लो समयमा कोरोना मापदण्डले क्रिकेटको खेल तालिकामा निकै नै प्रभाव पारेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न राष्ट्र अन्य राष्ट्रको भ्रमण गर्नुपर्ने हुन्छ। र आयोजक राष्ट्रहरुको आ-आफ्नो कोरोना मापदण्ड हुने भएकाले ‘बायो बबल’ र ‘क्वारेन्टाइन’ समयले खेल तालिकामा असर पार्ने देखिएको छ।

सोही विषयको शिकार बनेको छ भारतीय क्रिकेट टोली। भारतीय क्रिकेट टोलीले गत महिना विश्व टेस्ट च्याम्पियनशिप फाइनल खेल्यो। इङ्ल्यान्डमा आयोजना भएको सो खेलका लागि भारतीय क्रिकेट टोली जुन महिनामा नै त्यसतर्फ प्रस्थान गरेको थियो। न्युजिल्यान्डविरुद्ध सो फाइनल खेलमा पराजित भएको भारतीय टोली अझै पनि इङ्ल्यान्डमै छ। किनभने भारतले इङ्ल्यान्डसँग आगामी अगस्ट ४ देखि सेप्टेम्बर १४ सम्म ५ टेस्ट खेलको शृंखला खेल्दैछ।

संयोगवश त्यसै बिच भारतको श्रीलंका भ्रमण पनि पक्का भयो। जुलाई १८ देखि जुलाई २९ सम्म भारतले श्रीलंकामा तीन एकदिवसीय खेल तथा तीन टी-ट्वेन्टी खेल्ने तालिका सार्वजनिक गरियो। कोरोना मापदण्ड तथा क्वारेन्टाइन नियमका कारण इङ्ल्यान्डमा रहेको भारतीय टोलीले श्रीलंका भ्रमण गर्नु सम्भव थिएन।

यस कारण भारतले आफ्नो वैकल्पिक टोलीलाई श्रीलंका भ्रमणमा पठाउने निर्णय गर्यो। भारतका मुख्य प्रशिक्षकदेखि लिएर पहिलो रोजाईका सम्पूर्ण खेलाडी इङ्ल्यान्डमा रहँदा श्रीलंकाविरुद्ध भारतका प्रशिक्षक हुनेछन् पूर्व कप्तान राहुल द्रविड र कप्तान हुनेछन् शिखर धवन।

यद्यपि श्रीलंकालाई भारतको वैकल्पिक टोलीको चुनौती पनि निकै कठिन हुने अनुमान गरिएको छ। पछिल्लो समयमा श्रीलंकन क्रिकेट टोलीले निकै खराब प्रदर्शन गर्दै आएको छ। टोलीमा आएको ठूलो परिवर्तन र अस्थिर व्यवस्थापन समितिका कारण श्रीलंकन क्रिकेटको भविष्य अन्योलमा देखिएको छ।

एक दशक अगाडी आईसीसी विश्वकप फाइनल खेलेको श्रीलंका यसै वर्ष आयोजना हुने टी-ट्वेन्टी विश्वकपको छनोट खेल खेल्न गइरहेको छ। भर्खरै सम्पन्न इङ्ल्यान्डविरुद्धको शृङ्खलामा श्रीलंकाले निकै खराब प्रदर्शन गर्यो। इंग्लिश भूमिमा श्रीलंकाले सबै खेलमा पराजय भोगेर स्वदेश फिर्ता आएको थियो। आत्मविश्वासमा निकै कमजोर देखिएको श्रीलंकालाई वैकल्पिक भारतीय टोलीसंगको शृंखला निकै महत्वपूर्ण रहेको छ।

आफ्नो अस्थिरता र खराब लयलाई सुधार्ने मौका श्रीलङ्काले बारम्बार पाउने छैन। आज बाट शुरु हुने एकदिवसीय शृंखला श्रीलंका टोलीलाई पुनरागमनको सुवर्ण अवसर रहेको छ। श्रीलंकाको राजधानी कोलम्बोस्थित राजपक्ष रंगशालामा आजको खेल नेपाली समय अनुसार अपरान्ह ३:१५ बजे शुरु हुने तालिका रहेको छ।

पछिल्ला ५ खेल

भारत: जित, हार, जित, जित, हार
श्रीलंका: हार, हार, जित, हार, हार

सम्भावित शुरुवाती ११

भारत: शिखर धवन (कप्तान), पृथ्वी श, सूर्यकुमार यादव, मनिष पाण्डे, ईशान किशन, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, नभदिप सैनी, कुलदीप यादव, दीपक चाहर, युजवेन्द्र चहल

श्रीलंका: आविष्का फर्नान्डो, पथुम निशानका, मिनोद भानुका, धनन्जय डे सिल्भा, भानुका राजपक्ष, धसुन शनाका (कप्तान), वनिन्दु हसरंगा, इसुरु उदाना, लक्षण सन्दाकन, दुशमन्था चमिरा, कसुन रजिथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?