डोटी । कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन गर्न नपाउने एक हजार ९१ बालबालिकालाई स्वाध्ययन सामग्री वितरण गरिएको छ ।
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले जिल्लाका तीन स्थानीय तहका कूल एक हजार ९१ बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरेको हो ।
स्व–अध्ययन सामग्री वितरण गरेका बालबालिकामध्ये पूर्वीचौकी गाउँपालिका–१ का ४४८, सायल गाउँपालिका–४ र ५ का ४७६ तथा आदर्श गाउँपालिका–१ का १६७ रहेका छन् । बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको सामुदायिक विकास केन्द्रका परियोजना संयोजक टङ्क जोशीले जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको र पढाइ पनि हुन नसकेकामा उनीहरुको सिकाइ तथा पढाइ निरन्तरका लागि स्व–अध्ययन सामग्री वितरण गरिएको हो । वितरण गरिएको सामग्रीमा स्व–अध्ययन पुस्तक, कपी, पेन्सिल, इरेजर, साइनपेन रहेका छन् ।
यसैगरी जिल्लाकै सायल, आदर्श, पूर्वीचौकी र दिपायल सिलगढीका सात हजार ५०० बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया