ललितपुर महानगरपालिकाको बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

लोकपथ
63
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखकोे बजेट पारित गरेको छ ।

महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० रुपैयाँ लाख छुट्याएको छ ।

पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताउनुभयो । “पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने, “विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।”

वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी तीन करोड २५ लाख रुपैयाँ, आठ वटा वडालाई दुई करोड ५० लाख रुपैयाँ र सातवटा वडालाई दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा तीन करोड २५ लाख रुपैयाँ, वडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा दुई करोड ५० लाख रुपैयाँ तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाखका दरले बजेट विनियोजन भएको छ ।

महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताए । यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उनले जानकारी दिए ।

त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ । वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा शुरु गरिने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड रुपैयाँ र कोभिड विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ छुट्याएको प्रमुख महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?