प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागि, दुई मन्त्रीले लिए शपथ

लोकपथ
780
Shares

रामनारायण यादव- जनकपुरधाम । प्रदेश २ सरकारमा आज देखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएका छन् । माओवादी केन्द्रका दुई जना सांसदले मन्त्री पदको सपथ लिएका हुन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले पार्टीको निर्देशनानुसार राजीनामा दिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रका दुईजना सांसदलाई मन्त्री बनाएका हुन् ।

नवनियुक्त मन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका भरत प्रसाद साहलाई प्रदेश प्रमुख डा. राजेश झा(अहिराज)बाट शनिवार पद तथा गोपनीयताको सपथ लिएका छन् भने राज्यमन्त्री रुवी कुमारी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग सपथ लिएकी छिन् । साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

शपथ ग्रहण कार्यक्रममा नवनियुक्त दुबै मन्त्रीले ईश्वर (शब्द) छुटाएका थिए । मन्त्री साहले ईश्वरको साटो कुनै शब्द उच्चारण गरेका थिएनन् भने राज्यमन्त्री कर्णले ईश्वरको साटो सहिदको नाममा सपथ लिइन । राउतले आफ्नै पार्टी भित्रको महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएर गत जेठ २६ गते नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराईसकेका छन् ।

भाषा विवादका कारण शपथ ग्रहण समारोह डेढ घण्टा ढिलो :

नवनियुक्त मन्त्रीद्वयको सपथ ग्रहणको समय अपरान्ह ३ बजेका लागि निर्धारण गरिएपनि सपथ ग्रहण समारोह डेढ घण्टा ढिलो गरी शुरु भएको थियो । नवनियुक्त मन्त्री साहले सपथको भाषाको विषयमा कुरा नमिलेकाले सपथ ग्रहण समारोह ढिलो गरि शुरु भएको उनले बताए ।

मन्त्रीद्वयले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएका थिए । तर कानून अभावका कारण आफूहरुलाई राष्ट्रिय भाषामा सपथ लिनु परेको मन्त्री साहले बताए ।

सपथ ग्रहण लगत्तै उनले मातृभाषामा सपथ सम्बन्धि अध्यादेश ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रीद्वयले प्रदेश प्रमुख डा. रोजेश झा अहिराजलाई मैथिली भाषामा प्रतिकात्मक सपथको पत्र समेत बुझाएका थिए ।

नवनियुक्त मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?