राजधानीमै सार्वजनिक यातायातले मनपरी भाडा असुल्दै

RSS
14
Shares

काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० रुपैयाँ असुलेको बताए । बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही नभएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उनको दुःखेसो छ । फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुन् ।

यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा ६ रुपैयाँ नै बढी भाडा तिर्नुपर्‍यो । असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम २० रुपैयाँ भाडा भएको छ भन्दै बा५ख २७६४ नम्बर बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।

छोटो दूरीमा ६ रुपयाँ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । वेबसाइटमा विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नम्बरमा पटकपटक फोन गर्दासमेत उठ्दैन । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।

पटकपटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए । प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उनले जानकारी गराए।

विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयअनुसार गत असार २७ गते भाडा बढाएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?