एमालेको आन्तरिक एकता कति सम्भव?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद लामो समयदेखि चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएको व्यक्तिगत टकरावका कारण एमालेको विवाद लामो समयदेखि चलिरहेको हो ।

केही समय अगाडि पार्टी एकता गर्न भन्दै १० जनाको कार्यदल गठन गरिएको थियो । जसमा पार्टी अध्यक्ष ओली खेमाबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका थिए भने वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुुजी पन्त र गोकर्ण विष्ट सदस्य भएका थिए ।

दुई खेमाबाट पाँच/पाँच जना सदस्यले लामो समय कसरत गर्दै पार्टी एकताको खाका स्वरुप १० बुंदे सहमतिको प्रस्ताव तयार पारेका थिए । उनीहरुको सक्रियतासँगै पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पटक पटक वान टु वान वार्ता गर्दै आएका पनि थिए ।

तर सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा विघटनलाई खारेज गरिदिएसँगै पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच दूरी बढेको छ । यो बीचमा शीर्ष दुई नेताहरुले नेपाली शब्दकोषमा भएका सबैभन्दा तुच्छ शब्दहरुको प्रयोग गर्दै एकले अर्कोलाई खुइलाइ रहेका छन् ।

एकातर्फ संस्थापन पक्षले माधवकुमार नेपाल पक्षका २३ जना नेताहरुका कारण हुँदा खाँदाको सरकारलाई छोड्नु परेकाले नेपाल पक्षसँग सहकार्य हुन नसक्ने दाबी गर्दै आएको छ भने अर्कोतर्फ नेपाल पक्षले लामो कसरतबाट तयार पारिएको १० बुंदे प्रस्तावलाई बेवास्था गर्ने ओलीको अहंकारी प्रवृतिका कारण आन्तरिक एकता तुहिएको बताउन थालेका छन् ।

यसैबीच शुक्रवार बसेको एमाले स्थायी कमिटीको बैठकले कार्यदल विघटन भएको घोषणा गरिसकेको छ । स्थायी कमिटिको बैठकमा पनि वरिष्ठ नेता नेपाललाई लिएर पार्टी अध्यक्ष ओलीले तीतो पोखेका छन् । यस्तो अवस्थामा एमालेको आन्तरिक एकता सम्भव छ त भन्ने प्रश्न उब्जिएको छ । ओली पक्षका नेता कर्ण थापा एमालेको आन्तरिक एकता भएरै छाड्ने बताउँछन् । तर व्यक्तिगत स्वार्थमा तल्लिन भएका केही व्यक्ति भने पार्टीमा नरहन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘तत्कालका लागि पार्टी एकता गर्ने भन्दै भइरहेका जालझेल र धोकाधडी बन्द भएको हो । पार्टीको आन्तरिक एकता हुन्छ । तर व्यक्तिगत स्वार्थमा तल्लिन भएका केही व्यक्ति भने छुट्न सक्छन् ।’

त्यस्तै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता नारायणप्रसाद खतिवडा पनि आन्तरिक एकता सम्भव भएको बताउँछन् । पार्टी अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षलाई भर्खरै सत्ता छोड्नु परेको दुःखका कारण आरोप प्रत्यारोपमा उत्रिए पनि केही समयपछि पार्टी एकता हुने उनको भनाइ छ ।

उनले भने,‘करिब दुई तिहाईको नेतृत्व गरिरहनुभएका पार्टी अध्यक्षले भर्खरै सरकार छोडेर बाहिरनु भएको छ । त्यसैले नेता नेपालप्रति केही आवेग देखिन्छ । तर समय बित्दै जाँदा पार्टी एकता हुन्छ । अबको कुलिङ प्रियडमा पार्टी एकता हुन्छ, सम्भव छ ।’

अनौपचारिक बैठकको पनि एकता गर्नेमा नै जोड

कार्यदलमा रहेका दोस्रो तहका नेताहरु बीच शनिवार पनि अनौपचारिक छलफल भएको छ । शनिबारको छलफलले एमालेको पार्टी एकतालाई जोगाउन १० बुंदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शनिवारको बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले भने–‘१० बुंदे सहमति भएको छ । १० बुंदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ ।’

अर्का नेता गोकर्ण विष्टले पनि १० बुंदे सहमतिमा रहेर पार्टी एकतालाई कसरी जोगाउने भन्ने विषयमा आजको अनौपचारिक छलफल केन्द्रित रहेको जानकारी दिए । उनले भने–‘एमालेलाई एकतावद्ध गर्न आम पार्टी पंक्ति चिन्तित छ । अनौपचारिक भेटघाट गरेका हौँ । एमालेको आन्तरिक एकता कसरी हुन्छ भन्ने विषयमा आजको बैठक केन्द्रित थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?