कैलाली । स्थानीय सरकारले जनतालाई प्रत्यक्ष न्यायको अनुभूति गराउने गरि कसरी काम गरेको छ भन्ने राम्रो उदाहरण कैलालीको गौरीगङ्गा नगरपालिका बनेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा र उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिले हिंसाका घटनामा परेका महिलालाई प्रदान गरेका सेवा उत्कृष्ट रहेको छ । समितिले पीडित महिलालाई आश्रय दिने, न्यायमा पहुँच बढाउने, उनीहरुको जीविकोपार्जनमा मद्दत गर्ने र आर्थिक सहयोग गर्ने समेत गर्दै आएको छ ।
बालिका तथा किशोरीका लागि आत्मरक्षा तालिम तथा छाउपडी प्रथा उन्मूलनका लागि महिनावारी हुँदा बस्न बनाइएका असुरक्षित छाउगोठ भत्काउने अभियानसमेत नगरपालिकाले सञ्चालनमा ल्याएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशीले पालिकाभित्र अपाङ्गता भएका बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रमलगायतका काम सम्पन्न भएको बताइन्।
फरक–फरक समुदायको बसोबास रहेको नगरपालिकाका विभिन्न वडाबाट न्यायिक समितिमा आउने मुद्दामा पक्ष र विपक्ष दुवैलाई छलफलका माध्यमबाट जित–जितको अवस्था सिर्जना गरी सामाजिक मेलमिलापको वातावरण सिर्जना गर्ने गरी काम गर्न न्यायिक समिति लागिपरेको कानून अधिकृत जयन्द्र ठकुल्लाले जानकारी दिए । नगरपालिकाको ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी प्रत्येक वडामा मेलमिलापकर्ता तोकेर पालिकामा रहेका सबैको न्यायमा पहुँच पुगोस् भनेर न्यायिक समितिले आफ्नो गतिविधिलाई अघि बढाएको उनको भनाइ छ ।
परिवारबाट महिलाले भोगिरहेका समस्या समाधानका लागि देखिएका चुनौतीको समान गर्न न्यायिक समितिले गरेका पहल गरिराखेको छ । भेदभाव नगरी समान न्यायका लागि समितिले राम्रो काम गरिरहेको स्थानीयवासी पूजा बुढाले बताइन् ।
हिंसामा परेका महिलालाई सेभ हाउसमा आश्रय दिएर राख्ने गरिएको छ । उपप्रमुख अन्चला चौधरीले विभेद नगरी काम गरिरहेको जानकारी दिइन् । अनुहार हेरेर कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्दै न्याय दिने काममा आफू लागिपरेको उनको भनाइ छ । न्यायिक समितिमा आउने घर झगडा, जग्गा विवाद, लेनदेन, घरेलु हिंसा तथा कुटपिटका मुद्दालाई मेलमिलापको माध्यमबाट दुवै पक्षलाई जित–जितको अनुभूति गराइ पठाउने गरेको उपप्रमुख चौधरीले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया