च्याम्पियन्स लिग फाइनल कहाँ कहाँ खेलिने ?

काठमाडौं। युरोपियन फुटबलको सर्वोच्च निकाय तथा च्याम्पियन्स लिगको आयोजक ‘युईएफए’ले सन् २०२५ सम्मको च्याम्पियन्स लिग फाइनल आयोजना हुने रंगशालाको नाम सार्वजनिक गरेको छ।

कोरोना महामारीको कारण सन् २०२० र सन् २०२१ को च्याम्पियन्स लिग फाइनल योजना विपरीत गएपछि पछिल्लो दुवै चोटी फाइनल खेलाइने रंगशाला अन्तिम समयमा परिवर्तन गर्नु परेको थियो।

सन् २०२० को सिजन कोरोनाले निकै नै प्रभावित भएपछि युईएफएले ‘नकआउट’ चरणका सम्पूर्ण खेल पोर्चुगलमा सारेको थियो। त्यस्तै सन् २०२१ को फाइनल खेल टर्कीको इस्तानबुलमा हुने पक्का भएको थियो। यद्यपि बेलायत सरकारले टर्की भ्रमणमा रोक लगाएपछि फाइनल पुनः पोर्चुगलमै सारियो।

अन्तिम समयमा च्याम्पियन्स लिगको रंगशाला परिवर्तन गर्दा आयोजक राष्ट्र तथा टिकेट किनिसकेका फुटबल समर्थकलाई निकै ठूलो मर्का पर्ने गर्दछ। र भर्खरै यसको शिकार बनेको छ इस्तानबुलको आतातुर्क रंगशाला। युईएफएले पनि यो कुरा राम्ररी बुझेको छ र टर्कीलाई उसले निराश गरेन। जर्मनीमा हुने भनिएको सन् २०२३ को च्याम्पियन्स लिग फाइनल खेल इस्तानबुलमा सारिएको छ।

अझै भर्खरै सम्पन्न युरो कप २०२० बाट हटाइएको आयोजक सहरहरु आयरल्यान्डको राजघानी डब्लिन र स्पेनको विलबाओलाई पनि युईएफएले निराश गरेन । ११ सहरमा आयोजना गरिएको युरो कप २०२० को प्रारम्भिक तालिकामा यी दुई सहर पनि रहेका थिए। तर यी दुवैले कोरोना महामारीविरुद्ध मापदण्ड पुरा गर्न नसक्ने देखिएपछि अन्तिम समयमा आयोजक सहरको सूचीबाट हटाइएको थियो।

युईएफएले यस पटक यी दुवै सहरलाई निराश गरेको छैन। र दोस्रो मौका दिँदै डब्लिनमा सन् २०२४ को ‘युरोपा लिग फाइनल’ आयोजना गरिने बताएको छ। त्यस्तै विलबाओले सन् २०२४ को ‘महिला च्याम्पियन्स लिग फाइनल’ तथा सन् २०२५ को ‘युरोपा लिग फाइनल’ दुवै आयोजना गर्ने पक्का भएको छ।

यसै बिच युईएफएले सन् २०२५ सम्म च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने सहर तथा रंगशालाको सूची सार्वजनिक गरेको छ। सन् २०२२ देखि २०२५ सम्म च्याम्पियन्स लिग आयोजना गर्ने चार मध्ये तीन रंगशालाले भर्खरै सम्पन्न युरो कपका खेलहरु पनि आयोजना गरेका थिए।

च्याम्पियन्स लिग आयोजना हुने स्थान

सन् २०२२: सेन्ट पिटर्सवर्ग स्टेडियम

देश: रसिया
सहर: सेन्ट पिटर्सवर्ग
दर्शक क्षमता: ६७,८००

रसियाको सेन्ट पिटर्सवर्गस्थित सेन्ट पिटर्सवर्ग स्टेडियमले सन् २०२२ को च्याम्पियन्स लिग फाइनल खेल आयोजना गर्ने पक्का भएको छ।

यस रंगशालाले भर्खरै सम्पन्न युरो कप २०२० मा समूह चरणका ६ खेल आयोजना गरेको थियो। समूह ‘ई’ र ‘बी’का समूह चरण खेल आयोजना गरेको यस रंगशालाले स्पेन र स्विट्जरल्यान्ड बिचको क्वार्टर फाइनल खेल समेत आयोजना गरेको थियो।

त्यस्तै सेन्ट पिटर्सवर्ग स्टेडियमले सन् २०१८ फिफा विश्वकपमा ७ खेल आयोजना गरेको थियो। त्यस बेला यस रंगशालाले समूह चरणका ४ खेल, अन्तिम १६ को १ खेल, १ सेमी फाइनल तथा तेस्रो स्थानको खेल आयोजना गरेको थियो।

 

सन् २०२३: आतातुर्क स्टेडियम

देश: टर्की
सहर: इस्तानबुल
दर्शक क्षमता: ७४,७५३

कोरोना महामारीले निकै प्रभावित रंगशाला आतातुर्कमा सन् २०२० तथा सन् २०२१ को च्याम्पियन्स लिग फाइनलको तालिका रहेको थियो। तर दुवै चोटी त्यो हुन नसक्दा के आतातुर्क तेस्रो मौकामा भाग्यमानी सावित होला त?

च्याम्पियन्स लिग इतिहासकै यादगार मध्येका एक फाइनल खेल आयोजना गरेको आतातुर्क त्यस पश्चात् पुनः च्याम्पियन्स लिग फाइनल आयोजना गर्न आतुर देखिएको छ। सन् २००५ मा आतातुर्कले एसी मिलान र लिभरपुल बिचको फाइनल खेल आयोजना गरेको थियो। जुन विभिन्न कारणले फुटबल प्रेमीमाझ निकै यादगार रहेको छ।

 

सन् २०२३: वेम्बली स्टेडियम

देश: इङ्ल्यान्ड
सहर: लन्डन
दर्शक क्षमता: ९०,०००

विश्वकै उत्कृष्ट तथा प्रतिष्ठित मध्येको एक रंगशाला हो वेम्बली। इङ्ल्यान्डको राजधानी लन्डनमा रहेको यस रंगशालाले धेरै महत्वपूर्ण खेल आयोजना गरिसकेको छ।

भर्खरै सम्पन्न युरो कप २०२० को दुवै सेमी फाइनल तथा फाइनल खेल आयोजना गरेको वेम्बलीले सन् २०२० महिला युरो कप पनि आयोजना गर्दैछ। त्यस्तै सन् २०११ तथा सन् २०१३ को च्याम्पियन्स लिग फाइनल खेल आयोजना गरेको वेम्बलीले एक दशक पछि च्याम्पियन्स लिग फाइनल आयोजना गर्दैछ।

 

सन् २०२५: एलियान्ज एरेना

देश: जर्मनी
सहर: म्युनिख
दर्शक क्षमता: ७५,०२४ (घरेलु लिग) ७०,००० (अन्तराष्ट्रिय तथा युरोपियन खेल)

विश्वकै सुन्दर मध्येको एक रंगशाला हो एलियान्ज एरेना। जर्मन क्लब बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज रंगशालाले पनि धेरै महत्वपूर्ण खेल आयोजना गरिसकेको छ।

भर्खरै सम्पन्न युरो कप २०२० अन्तर्गत एलियान्जले समूह चरणका ३ खेल तथा १ क्वार्टर फाइनल खेल आयोजना गरेको थियो। त्यस्तै सन् २००६ फिफा विश्वकपमा एलियान्जले समूह चरणका ४ खेल, अन्तिम १६ को एक खेल र १ सेमी फाइनल खेल पनि आयोजना गरेको थियो। सन् २०१२ को च्याम्पियन्स लिग फाइनल आयोजना गरेको यस रंगशालाले युरो कप २०२४ को खेलहरु पनि आयोजना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?