—नारायणी रजौरेदाङ, १६ चैत – पर्यटनको राम्रो सम्भावना बोकेको दाङको एक धार्मिक सम्पदा ओझेलमा परेको छ ।करिब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने हाल गढवा गाउँपालिका–८, कोइलावासमा रहेको रामजानकी मन्दिर हाल प्रचारप्रसार अभाव तथा बाटोघाटोको असुविधाले ओझेलमा परेको हो ।नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने रामजानकी मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहँुदा ओझेलमा परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेपनि हाल मन्दिर दर्शन गर्न आउने पर्यटक न्यून रहेको स्थानीय बताउँछन् ।पहिले भारतलगायत अन्य देशबाट पर्यटक मन्दिर दर्शनका लागि आउने गरे पनि हाल पर्यटकको संख्या निकै कम भएको बताइएको छ । “मन्दिरमा पहिले दैनिक एकसयभन्दा बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल भने पर्यटक शुन्यप्राय छन्,”– स्थानीय फरिद सिद्धिकीले भने ।पर्यटनको राम्रो सम्भावना बोकेको सो मन्दिर हाल ओझेलमा पर्नुमा कोइलावाससम्म जाने बाटोको दूरवस्था तथा प्रचारप्रसार नहुनु मुख्य कारण भएको स्थानीय सानुमाया तुलाधरले बताए । उनले भने “मन्दिरको उचित प्रचारप्रसार नहुनु तथा धार्मिक तथा पर्यटकीयस्थलको संरक्षणमा राज्यले ध्यान नदिएका कारण नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर ओझेलमा परेको छ ।”यसको उचित संरक्षण तथा प्रचारप्रसार भयो भने दाङको पनि विकास हुन्छ, दाङको नाम पनि देशैभर छाउने, यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँछ – स्थानीय हरि कुरसीले भने । कुनैबेला रातदिन झकीझकाउ हुने तथा पर्यटकको घुइँचो हुने मन्दिर हाल सुनसान हुने गरेको छ ।अन्य स्थानमा पर्यटन प्रवद्र्धनका लागि भन्दै मेला महोत्सव भएपनि दाङको सबैभन्दा पुरानो र ठूलो रामजानकी मन्दिरमा भने कुनै कार्यक्रम नभएको स्थानीयले गुनासो गरेका छन् । अन्य स्थानमा मेला महोत्सव भएपनि रामजानकी मन्दिरमा कुनै कार्यक्रम भएनन्, यसको विकास तथा प्रचारप्रसार भयो भने कोइलावासको पनि विकास हुने स्थानीय बताउँछन् ।सो मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलिला सात दिनसम्म धुमधामका साथ मनाइने गरेको पत्रकार दशरथ घिमिरेले बताए । “रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानका साथै भारतमा पनि प्रसिद्ध रहेको सो मन्दिर हाल ओझेलमा परेको घिमिरेको भनाइ छ । कुनै बेला भारत तथा दाङ, रोल्पा, रुकुम र सल्यानलगायतका बटुवाको आश्रयस्थल हुने मन्दिरमा हाल नान्हकप्रसाद सुक्लाले दैनिक पूजापाठ गर्नुका साथै मन्दिरको संरक्षण गर्ने गरेको बताइएको छ । यसअघि जीर्ण बन्दै गएको सो मन्दिरमा हाल भने रङरोगन भएको छ ।कुनै बेला नेपालको मुख्यनाकाका रुपमा रहेको कोइलावासमा दैनिक ५०० देखि ७५० जना मानिस टाढाटाढाबाट नूनतेल किन्नका लागि जाने गर्दथे ।त्यहाँ ठूलो व्यापारिक केन्द्र हुँदा दैनिक ठूलो संख्यामा किनमेल गर्ने मानिसको भिड लाग्ने गर्दथ्यो भने टाढाटाढाबाट भक्तजन मन्दिरको दर्शन एवं पूजाआजाका लागि त्यहाँ जाने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया