अहिले सरकारको सबैभन्दा ठूलो कुटनीति ‘भ्याक्सिन’ हो : परराष्ट्रविद् सिम्खडा (अन्तर्वार्ता)

लोकपथ
260
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउँला कि भन्ने आशा आम मानिसले गरेका छन् । यो संगै छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई कसरी सुधार्लान् भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री देउवामा मित्रराष्ट्र र छिमेकीराष्ट्रहरुसँगको छवि सुधार्ने चुनौती र अवसर छ । यसै विषयमा केन्द्रित रहेर पुर्व राजदूत एवंम् परराष्ट्रविद् शम्भुराम सिम्खडासँग गरिएको कुराकानीको सम्पादित अंश:

नयाँ सरकार गठन भएको छ, वैदेशिक चासोको विषय त्यत्तिकै छ, अब यो सरकारको वैदेशिक सम्बन्ध र त्यसका प्राथमिकताहरु के के हुन सक्छन् ?

यसमा दुईवटा पक्ष धेरै नै महत्वपूर्ण छ । एउटा वैदेशिक सम्बन्ध वा कुटनीतिलाई आन्तरिक राजनीतिको प्रतिबिम्ब भनिन्छ । आन्तरिक राजनीतिको सम्बन्ध कुटनीतिमा अत्यन्त महत्वपूर्ण हुन्छ । दोश्रो नेपालको परराष्ट्रनीतिका केही मुलभूत आधारहरु छन् । परराष्ट्रनीति भनेको कन्टीन्यूटीमा चल्ने विधा हो । अर्को सरकार आयो, भनेर नीति परिवर्तन हुँदैन । परम्परागत परराष्ट्रनीतिका मुलभूत आधारमा टेकेर अहिलेको सरकारले सबैभन्दा पहिला कुटनीति दुईवटा एरियामा कन्सटेट गर्नुपर्छ । एउटा भ्याक्सिन कुटनीति नै भनौँ । अहिलेको सबै जनताको चाहना आवश्यक्ता र खाँचो भनेकै जनताले यथाशीघ्र खोप लगाउनु पर्‍यो र आफूलाई सुरक्षित महशुस गर्नुपर्‍यो । यो पहिलो प्राथमिकता हो ।

दोश्रोमा विकास कुटनीति भनौँ वा आर्थिक कुटनीति । कोभिड महामारीले अत्यन्त पीडित जनता र थलिएको अर्थ व्यवस्था । जनतालाई पनि राहत चाहिएको छ । राहत दिनका लागि आर्थिक पक्षलाई सबल र चलायमान बनाउन आवश्यक छ । यो दुवैको लागि एकदमै सक्रिय र प्रभावकारी कुटनीति अत्यावश्यक छ । व्यापार, रेमिट्यान्समा निर्भर हाम्रो कुटनीतिले वैदेशिक रोजगारीमा प्रभाव लगायतलाई प्रभावकारी बनाउने बित्तिकै यथाशीघ्र भ्याक्सिनको उपलब्धता गराउनु पर्छ । अर्थ व्यवस्थालाई चलायमान गर्नको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि त्यत्तिकै आवश्यक छ । सरकारले कोरोनाविरुद्धको भ्याक्सिन आफ्नो पहिलो प्राथमिकता भनेर घोषणा पनि गरिसकेको छ ।
यो तत्कालको कुरा मात्रै हो ।

यो भन्दा पहिलाको हाम्रो स्थिती आन्तरिक राजनीतिको अनिश्चितता थियो । हामीले भोगिरहेको राजनीतिक संक्रमणको व्यवस्थापन उत्तेजित, इमोशनल, पोलोराइज र राजनीतिक शक्तिहरुको बीचमा टकराव भएर सम्भव हुँदैन । त्यसका लागि एउटा यस्तो व्यक्तिको आवश्यक्ता छ, जसले कोलेशन बीड गर्नसक्छ । जो माइल्ड किसिमको व्यवहार गर्नसक्छ । आज एउटा कुरा र भोलि अर्को कुरा ,एक ठाउँमा गयो एउटा र अर्को ठाउँमा गयो अर्को कुरा गरेर अहिलेको संसारमा प्रभावकारी कुटनीति हुँदैन । परम्परागत रुपमा पहिला राजदूतलाई आफ्नो देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका निम्ति ढाँट्नलाई बाहिर पठाएको भन्ने चलन थियो । तर अब त्यसरी कुटनीति चल्दैन अहिलेको कुटनीति भनेको विश्वास, विश्वसनीयताको आधारमा चल्छ । त्यो हिसावले हेर्ने हो भने वर्तमान प्रधानमन्त्री अरु कमीकमजोरीका कुरालाई छोडेर एकदमै उत्कृष्ट हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु हेर्दा विगतको अनुभवका कारण हामीमा धेरै चिन्ता, शंका रहेको छ तर उहाँको स्वभाव परराष्ट्रनीतिमा अत्यन्त उपयोगी किसिमको छ । धेरै बोल्नुहुन्न, प्रोफेसनलहरुको भर पर्नुहुन्छ, त्यो हिसावले तत्कालका यी दुई प्राथमिकता हुँदाहुँदै पनि अरु धेरै महत्वपूर्ण प्राथमिकताहरु छन्, ति प्राथमिकतालाई अघि बढाउन यो अनिश्चितताको परिवेशबाट एक किसिमको निश्चितताको नेतृत्व उहाँमा छ । त्यसैले पनि वर्तमान सरकारमा परराष्ट्रनीतिका सहजताको माहोल छ ।

झण्डै बाटो बिराएको जस्तो अवस्थामा पुगिसकेको कुटनीतिलाई शान्त स्वभावको व्यक्तिले कसरी समन्वय गर्ने, यसमा केही सुझाव छन् कि ?

हाम्रो मुलभूत आधार भनेको सबैसँग मित्रता हो । यो आधारमा टेकेर केही प्राथमिकता निर्धारण गरेका छौँ । यी मध्ये पहिलो प्राथमिकता भनेको दुई विशाल र अत्यन्त शक्तिशाली छिमेकीहरुको बीचमा भएको हुनाले उनीहरुसँगको विश्वसनीयताको कुटनीति हो । विश्वसनीयताको आधारमा हाम्रा मुलभूत आवश्यक्ताहरु के के हुन्, हाम्रा चाहनाहरु के हुन्, उनीहरुका आवश्यक्ताहरु के हुन्, उनीहरुका चाहनाहरु के हुन्, यी दुई वटाकै बीचमा सामञ्जस्य कसरी ल्याउने ? ताकि हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ उनीहरुसँगको सम्बन्धबाट उनीहरुको पनि पूर्ति हुन्छ र हाम्रो पनि पूर्ति हुन्छ । मुल कुरा छिमेकीसँगको सम्बन्धमा उच्चस्तरमा एक किसिमको विश्वसनियताको वातावरण बनाउनुपर्छ ।

दोश्रो कुरा, त्यसपछि नेतृत्वले निर्धारण गरेको वृहत मार्गदर्शन छ, त्यो मार्गदर्शनअन्तर्गत अत्यन्त प्रभावकारी किसिमबाट त्यसलाई सञ्चालन गर्न सक्ने उहाँको टिम बन्छ । परारष्ट्रमन्त्री, परराष्ट्र सल्लाहकार, परराष्ट्रको टिम अत्यन्त सक्रिय र पोख्त किसिमको छ । अहिलेको विश्व राजनीतिक र रणनीतिक बदलिँदो व्यवस्थामा यो क्षेत्रको महत्व, त्यसमा पनि हाम्रो हिमालको दक्षिण भाग, नेपालको परम्परागत भू–राजनीतिक संवेदनशीलता र त्यो संवेदनशीलताका आधारमा परिवर्तित कुराहरु के के हुन् ? त्यस्तोलाई राम्रोसँग नेतृत्व गर्न सक्ने सहयोगी टिम चाहिन्छ ।

तेश्रो कुरा, हाम्रा जति पनि देशहरुसँग मुल विषयहरु छन्, एउटा भ्याक्सिनकै कुरा छ, भारतबाट आउने भनेको आइसकेको छैन । कुटनीति तवरबाट प्रभावकारी रुपमा भारत सुरक्षित हुनलाई नेपाली पनि सुरक्षित हुनुपर्छ, नेपालीले पनि खोप पाउनुपर्‍यो । भारतीयहरुले पनि पाउनुपर्‍यो । नेपाललाई खोपको प्राथमिकतामा राख्नु भारतका लागि आफ्नै हितमा छ भन्ने कुरा एक नम्बर भयो । चीनले अहिले विश्वव्यापी रुपमा यति धेरै भ्याक्सिन उपलब्ध गराइसकेको छ कि, हिजो नै हाम्रो प्रभावकारी कुटनीति भएको भए, हाम्रो जस्तो सानो आपूर्ति परिपूर्ति गर्न चीनलाई त्यति ठूलो कुरा थिएन । पहिला त हामीले चीनसँग भ्याक्सिन नै लिने कि नलिने अलमलमा बस्यौँ । अहिले बाध्य भएर चीनसँग पनि सम्झौता भएको छ । भ्याक्सिन समयमा पाउनु आवश्यक्ता हो र त्यस बारेमा छलफल हुनपर्‍यो । त्यो बाहेक अरु व्यापार घाटा लगायतका विषयहरु पनि छन्, सीमाका विषय छन्, अब अहिले बाढीको कुरा छ, वर्षातको समय छ, यता पानी पर्छ, बाढी आउँछ, उता पनि क्षति हुन्छ । यी यावत विषयहरुमा प्रभावकारी रुपमा पहिला नेतृत्वले मार्ग निर्देशन गर्दछ, सहयोगी टिमले राम्रो र प्रभावी गृहकार्य गर्छ र त्योबाट दुई देशसँग कुटनीति सञ्चालन हुन्छ । यसरी हाम्रो सम्बन्धलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छौँ ।

शेरबहादुर देउवा आफैँमा नयाँ व्यक्ति होइन, पाँचौ पटक प्रधानमन्त्री बन्नुभएको छ, उहाँसँग व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय सम्बन्धहरु छन्, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

उहाँको विश्वसनियता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ, नहुने कुरा भन्नुहुन्न । फल्स स्टेटमेन्ट दिँदै जानुहुन्न भन्ने एउटा जुन छाप छ, त्यो कुटनीतिको लागि अत्यन्तै सकारात्मक छ । अब दोश्रो कुरा, अहिले संसारमा चर्चित इतिहासकार युवाल न्हो होरारी छन् । उनका तीनवटा पुस्तक संसारमै सबैभन्दा उत्कृष्ट छन् । छेपियन्ज, ट्वान्टी वान फर्मुला फर द ट्वान्टी वान सेञ्चुरी, २१ औँ शताब्दीको लागि २१ वटा मुल मन्त्रहरु भन्ने दोश्रो र तेश्रो होमो ड्यूज भन्ने छ । यो भनेको प्रविधिबाट कसरी मानिस भगवान बन्न खोज्दै छ ? भन्ने पुस्तकमा उनले मानिसले किन इतिहास पढ्छ भने त्यसैको बन्दी हुन होइन, त्यसबाट मुक्ति पाउन पढ्छ भन्ने लेखिएको छ । यसको मतलब पुरानै कुराहरु दोहोरिने हुन् कि भनेर विगतमा भएका कमी कमजोरीहरुले मानिसमा शंका छ, चिन्ता छ । यसको मतलव इतिहासले हामीलाई पाठ सिकाउँछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा जीमा पहिलो त अनुभव छ, अनुभवको छोटकरी छँदै छैन । अनुभव भनेको स्वयंले भोगेपछि मात्रै थाहा हुन्छ । दोश्रो पक्ष उहाँले इतिहासमा के के राम्रा पक्षहरु भए र के के कमी कमजोरी भए ? त्यो अनुभूत गर्ने बेला छ । राजनीति र कुटनीति भनेको एक व्यक्ति र विधा होइन, यो टिमको काम हो । नेतृत्वले भिजन दिन्छ, त्यसलाई रुपान्तरण गर्ने र कार्यरुप दिने टिम नै हो । अब टिम कस्तो आउँछ । कुटनीतिको हिसावले एकदमै सहज व्यक्तित्वलाई हामीले नेतृत्वमा पाएका छौँ । तर सफलताको कसी भनेको उहाँले कस्तो टिम बनाउनु हुन्छ, त्यसमा निर्भर रहन्छ । अहिलेको विश्व राजनीति बुझेको र त्यसकै आधारमा यसलाई प्रभावकारी रुपमा व्याख्या गर्न सक्ने, सञ्चालन गर्न सक्ने, आफ्ना कुरा राख्न सक्ने, उहाँको भिजनलाई राम्रोसँग लागू गर्न सक्ने यस्तो टिम भयो भने उहाँको कार्यकाल सफल बन्नेछ । उहाँ अहिले छोटो र कठीन स्थितीमा प्रधानमन्त्री बन्नुभएको छ । तर त्यति हुँदाहुँदै पनि प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ चुनौतीसँगै अवसर पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?