असारमा अपराध : यी ५ घटना, जसले जन्मायो अनुत्तरित प्रश्न

असार महिनामा धेरै राजनीतिक उथलपुथल भए । त्यसमा पनि मिडियामा निरन्तर छाएका ५ ठूला घटनाले सबै जनालाई स्तब्ध बनायो । त्यतिमात्रै होईन, केहि घटनामा नसुल्झीएका गुथी पनि छन् । जुन रहस्यको गर्भमा नै छ । किनकी सरकार सत्ता जोगाउन लागिरह्यो ।

त्यसैले यी घटनामा आम मानिसले सत्यतथ्य पत्ता लगाउन भनिरहेता पनि सरकार मौन जस्तै छ । प्रहरी प्रशासनले खोजबिन गरिरहेको भन्ने रेडिमेड जवाफ दिईरहेको सन्दर्भमा घटनाको मुल कुरो पत्तो लाग्ने हो कि होईन भन्ने विषयलाई लिएर मानिसहरुले आशंका गरिरहेका छन् । यसबीचमा लागूऔषध, हत्या, बैंकिङ्ग कसूर, जबरजस्ती करणी र चोरीसम्बन्धी घटनाहरु बाहिर आए । तर असार महिनामा हत्याका ४ र बेपत्ताको १ घटनाले सञ्चारमाध्यममा निकै स्थान पाए ।

घटना १ : सन्तोषी सुब्बा

असार ७ गते सोमवार सन्तोषी सुब्बा दक्षिणकाली मन्दिर परिसरमा पुगेकी थिइन् ।

खानलाई गाँस र बस्नलाई बास नभएपछि सन्तोषीले सुरेश तिमल्सिना (बसका सहचालक) लाई केही व्यवस्था गरिदिन आग्रह गरेकी थिइन् ।
सुरेशले उनलाई बसमा बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै सँग खाजा खुवाए मदिराको नशाले मातिएका सुरेशले उनको बलात्कार गर्ने प्रयास गरेपछि उनी चिच्याएकी थिइन् । सहयोग मागेकै मानिस आफूमाथि जाईलागेपछि सन्तोषी प्रतिकारमा उत्रिन् । वरपरका मानिसहरुले सुन्छन् भनेर सुरेशले सन्तोषीकै सलले घाँटी कसेर सन्तोषीको हत्या गरे ।

हत्यापछि सन्तोषीको अनुहार कसैले पनि नचिनुन् भनेर सुरेशले सन्तोषीको मृत शरीरमाथि ढुंगा बजारे । क्षतविक्षत शव दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा लगेर फालिदिए ।
प्रहरीले उनलाई असार १० गते काठमाडौं २७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार सुरेश सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी – १४ घर भई हाल दक्षिणकाली नगरपालिका–७ बस्थे । विभिन्न पशुपन्छीको आवाज निकालेर आफ्नो सुन्दर कलामार्फत् विभिन्न सञ्चारमाध्यममा छाएकी सन्तोषीको विभत्स हत्याले मानिसहरु निकै आत्तिएका थिए ।

घटना २ : सुजिता भण्डारीको मृत्यु

असार ११ गते सुजिता भण्डारी साथीको घर जान्छु भन्दै बिहानै घरबाट निस्केकी थिइन् । सुजिताले उनकी दिदी कविताको मोबाइलमा फोन गरेकी थिइन् तर रोपाईमा गएका कारण उनको मोबाइल घरमै थियो । मिस्कल देखेपछि कविताले तत्कालै उनलाई फोन गरिन् । फोनमा सुजिताले उनलाई आफू अपहरणमा परेको र बचाउन आग्रह गरेकी थिइन् । लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
बेपत्ता भएको ९ दिन पछि ब्रम्हस्थानी सामुदायिक वनको भिरमा सुजिताको शव फेला परेको थियो । सुजिताको शवसँगै प्रहरीले पतेरो मार्न प्रयोग गर्ने विषको बोत्तल, ३०० रुपैयाँ भेटाएको थियो ।

सुजिताको शवको पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । तर पोस्टमार्टम रिपोर्टबाट पनि उनको हत्याबारे केही पत्ता लाग्न सकेन ।

अहिलेसम्म पनि सुजिताको हत्या भएको हो वा आत्महत्या भन्ने बारे अझै पत्ता लाग्न सकेको छैन् । भिसेरा परीक्षण पछिमात्रै यो कुराको पुष्टि हुने प्रहरीको दाबी छ ।

घटना ३ : पारिवारिक रिसिईबी र डाहका कारण भाइको हत्या

असार २१ गते सोमवार टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ मा विवेक विष्टलाई जामुन खाने बहानामा उनकी दिदि पर्ने १५ वर्र्षीय बालिकाले घर बाहिर लगेकी थिइन् । जामुन खाएपछि उनले विवेकलाई करिब ४–५ सय मिटर उत्तरतर्फ रहेको जमरा कुलोमा धकालिदिएकी थिईन् । बेपत्ता भएको २ दिनपछि प्रहरीले ३ वर्षीय बालक विवेकको शव जमरा खोला किनारमा झाडीमा अड्कीएको अवस्थामा फेला पारेको थियो ।


घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरीले उनकै दिदी पर्ने १५ वर्षीया बालिकाले उनको हत्या गरेको कुरा सार्वजनिक गरेको थियो ।

घटना ४ : सुजिता ठाकुर

सुजिता ठाकुर गत जेठ २० गतेदेखी बेपत्ता भएकी थिइन् । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्वर ७ भ्रमरपुराकी सुजिताको शव बेपत्ता भएको ३८ दिनपछि आफ्नै घडेरीमा निर्माणाधीन शौचालयको ट्याङ्की भित्र गाडिएको आवस्थामा फेला पारेको थियो । उनको हत्या उनकै देवर रुपेश ठाकुरले गरेका प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

रुपेशले सुजिताको हत्या गरी काठ मिलको निर्माणाधिन शौचालयको ट्याङ्कीभित्र हालेर माथिबाट ढलान गरेका थिए । पारिवारिक विवाद र अंशबण्डाका कारण रूपेशले हत्या गरेको कुरा स्वीकारेका थिए । घटनामा संलग्न ५ जना अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने सुजिताका ससुरा अझै फरार रहेका छन् ।

घटना ५ : विना सापकोटा 

नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा १८ दिन बितिसक्दा पनि अझै केही पत्ता लाग्न सकेको छैन । असार १४ गते बेलुका बीच सडकबाटै विना बेपत्ता भएकी थिइन् । विना भरतपुर–४ का एक युवकसँग प्रेममा थिइन् । पाँच वर्ष अघि उनीहरुको फेसबुकमार्फत् चिनजान भएको थियो । लण्डनबाट ती युवक आफ्नो दाईको विवाहका लागि नेपाल आएका थिए ।

विना बेपत्ता भएको दिन असार १४ गते पनि ती युवक विनाकै घरमा खाजा खाएर त्यहाँबाट निस्केका थिए । विना पनि उनीसँगै घरबाट निस्किएकी थिइन् । विनाको परिवारमा ती युवकको राम्रै चिनजान भएकाले कसैले आपत्ती जनाएका थिएनन् । विना र ती युवक प्रेममा थिए । तर अर्की एक युवतीले विनाका प्रेमीलाई मन पराउँथिन् । अर्की युवतीले स्कूल पढ्दादेखि नै युवकलाई मन पराउने कुरा विनाले थाहा पाएपछि उनीहरु घटना भएको दिन आफ्नो घरबाट खाजा खाएर उनको घर गएका थिए । म्यासेन्जरमा निरन्तर म्यासेज आएपछि विनाले युवकलाई उसको घर जान दवाव दिएकी थिइन् । ती युवतीको घरमा पुगेपछि उनीहरुबीच चर्काचर्की भएपछि विना बेहोस भएकी थिइन् ।

विना बेहोस भएपछि युवकले विनाका बुबालाई फोन गरेका थिए । विना बेहोस भएको जानकारी पाएपछि विनाका बुबाले विनालाई घर ल्याइदिन भनेका थिए । बेहोस भएकी विनालाई पानी छम्केपछि होस आएको भन्दै ती युवकले स्कुटरमा राखेर घर लैजादै थिए । चौविस कोठीस्थित एक एटीएममा पैसा निकाल्न गएका बेला विनास्कुटरमै बसीरहेकी थिइन् । तर जब युवक पैसा निकालेर बाहिर निस्किए, विना त्यहाँ थिइनन् । एताउता खोज्दा पनि विनालाई नभेटेपछि उनले विनाका बाबुलाई फोन गरेका थिए । तर विना फेला नपरेपछि उनको खोजी कार्य भइरहेको छ । केहि मानिसले विनालाई अबेर रुँदै हतासमा सडकछेउबाट हिँडेको बताएका थिए । तर उनको अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?