जनप्रतिनिधिलाई राष्ट्रपतिको यस्तो आह्वान

काठमाडौँ, १६ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माणको ढोका खुलेको बताउँदै मुलुकको समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आह्वान गरेकी छन्, कान्तिपुरमा खबर छ  ।जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरू र सिंगो संसद् दलगत स्वार्थभन्दा माथि उठेर निष्ठापूर्वक लाग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।‘जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएकी छु,’ संघीय संसद्को संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद् प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ ।’भण्डारीले जनभावना एवं व्यवहारबाट अनुमोदित संविधानले समृद्धितर्फको बाटो निर्दिष्ट गरिसकेको बताइन् । विभिन्न तहका निर्वाचनमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले समृद्ध र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व सुम्पिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?