गोलरक्षकले भरिभराउ पीएसजी

काठमाडौं। पेरिस सेन्ट जरमेन ‘पीएसजी’ फ्रेन्च लिग-१ मा बलियो टोली हो। यति बलियो की पीएसजीले उपाधि नउचाल्दा हामी चकित हुन्छौं।

आर्थिक रूपमा होस् वा विश्वविख्यात खेलाडी भित्र्याउन होस्, पीएसजीले संसार भरिकै क्लबहरुलाई टक्कर दिँदै आएको छ। नासर-एल-खेलाफीको अध्यक्षतामा रहेको पीएसजीले पछिल्लो समयमा हरेक ‘ट्रान्सफर मार्केट’मा तहल्का मच्चाउँदै आएको छ।

सन् २०११ मा ‘कतार स्पोर्ट्स इन्भेष्टमेन्ट’का मालिक नासरले पीएसजी किने। पूर्व टेनिस खेलाडी नासर ‘बीइन मिडिया ग्रुप’, ‘क्युएसआई’ र ‘डिजीटुर्क’का पनि अध्यक्ष हुन्। करिब ८ बिलियन अमेरिकी डलर कुल मूल्य बोकेका नासरले सन् २०११ देखि यता पीएसजीमा नेयमार, इब्राहिमोभिच, काभानी, थियागो सिल्भा, किलियन एमबाप्पे जस्ता विश्वविख्यात खेलाडी भित्राएका छन्।

फलस्वरूप पीएसजीले एक दशकको समयमा १३ उपाधि जित्न सफल पनि भएको छ। तर नासर र पीएसजीको मुख्य उद्देश्य भने अझै पूरा भएको छैन। त्यो हो युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि, ‘युईएफए च्याम्पियन्स लिग’ उपाधि उचाल्ने सपना। च्याम्पियन्स लिग उचाल्ने पीएसजीको सपना एक वा अर्को तरिकाले अधुरै रहेको छ। सन् २०१९/२० सिजनमा पीएसजी र च्याम्पियन्स लिग उपाधि बिच मात्र एक कदमको दूरी थियो। तर फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित हुँदा पीएसजीको लक्ष्य पूरा हुन सकेन।

सन् २०२०/२१ सिजनको कथा पनि लगभग त्यस्तै भयो। पीएसजीले तत्कालीन च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखलाई अन्तिम ८ चरणमा नै पराजित गर्यो। पीएसजीको बदला त पूरा भयो नै, च्याम्पियन्स लिग उपाधिको सपना पनि फेरि ब्युँतियो। तर सेमी फाइनलमा इंग्लिश क्लब म्यानचेस्टर सिटीले पीएसजीको यात्रा अन्त्य गरिदियो। फेरि एक पटक पीएसजी चुक्यो। कमी प्रशिक्षकमा रहेको हो भनौं भने, पीएसजीले बर्खास्त गरेका प्रशिक्षक थोमस टुचलले चेल्सीसँग सोही वर्ष च्याम्पियन्स लिग उपाधि उचाले।

नासर र पीएसजी समर्थक दुवैको धैर्यता चरम सीमामा पुगिसकेको छ। पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि अपरिहार्य रहेको छ। यसमा कुनै दुई मत छैन। तर पीएसजीले हार खाएको भने अवश्य छैन। सन् २०२१/२२ सिजन शुरु हुन मात्र एक महिनाको समय बाँकि छ। र अघिल्लो सिजन घरेलु लिग उपाधि समेत जित्न असफल रहेको पीएसजीको कारोबार तिब्र गतिमा शुरु भइसकेको छ।

कोरोना महामारीले संसार भरिका फुटबल क्लबलाई आर्थिक रूपमा धेरै सकस दिइरहेको अवस्था छ। बार्सिलोना, रियल मड्रिड जस्ता ठूला क्लब समेत आर्थिक मन्दीको शिकार भएका छन्। यसको बावजुद पीएसजी हात बाँधेर बसेको छैन। अझै पीएसजीले यस सिजन खेलाडी भित्र्याउन शानदार मोडल अपनाएको देख्न सकिन्छ।

पीएसजीले आ-आफ्नो क्लबसँग सम्झौता अन्त्य भएका विश्वविख्यात खेलाडीलाई धमाधम भित्र्याउँदै गरेको देख्न सकिन्छ। रियल मड्रिडका पूर्व कप्तान तथा लेजेण्ड सर्जियो रामोस यसको उदाहरण हुन्। रामोस जस्ता व्यक्तित्वलाई पीएसजीले ‘फ्रि-ट्रान्सफर’मा भित्र्यायो। त्यस्तै नेदरल्यान्ड्सका स्टार मिडफिल्डर वाइनाल्डमलाई पनि पीएसजीले ‘फ्रि-ट्रान्सफर’ मार्फत अनुबन्धित गर्यो। इंग्लिश क्लब लिभरपुलसँग प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि जितेका वाइनाल्डमले युरो २०२० मा आफ्नो राष्ट्रको कप्तानी समेत गरेका थिए। एक वाक्यमा भन्नु पर्दा पीएसजीले वाइनाल्डममा परिपक्व तथा अनुभवी खेलाडी भित्र्याउन सफल भयो।

त्यस्तै पीएसजीले इटालियन सिरी-ए विजेता इन्टर मिलानबाट ‘फूल ब्याक’ असरफ हकिमीलाई पनि अनुबन्धित गरिसकेको छ। रामोस र वाइनाल्डम जस्तो ‘फ्रि- ट्रान्सफर’मा हकिमी आएका होइनन्। क्लबको ‘फूल ब्याक’ स्थानको कमी पूरा गर्न पीएसजीले हकिमीलाई ५० मिलियन पाउण्डमा भित्र्यायो। २२ वर्षीय मोरक्कन हकिमी आफ्नो उमेर समूहमा संसारकै उत्कृष्ट ‘राइट ब्याक’ हुन्।

पीएसजीको कारोबार अझै रोकिएन। बुधवार पीएसजीले गोलरक्षक भित्र्यायो। त्यो पनि भर्खरै सम्पन्न युरो कप विजेता तथा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ चुनिएका जियानलुइगी डोनारुम्मालाई पीएसजीले ‘फ्रि-ट्रान्सफर’मा अनुबन्धन गर्न सफल भयो। २२ वर्षीय डोनारुम्मा विश्वका उत्कृष्ट गोलरक्षक मध्येका एक हुन्। यसमा दुई मत छैन। तर पीएसजीमा राम्रा गोलरक्षक नभएका पनि होइनन्।

पीएसजीमा डोनारुम्मा बाहेक विश्वविख्यात गोलरक्षक केलर नभास पनि छन्। रियल मड्रिडका पहिलो रोजाइका गोलरक्षक हुँदै नभासले लगातार ३ च्याम्पियन्स लिग उपाधि उचालेका थिए। त्यस्तै १ ला-लिगा उपाधि पनि उचालेका गोलरक्षक हुन् नभास। भन्नै पर्दा पीएसजीमा अहिले १४ जना गोलरक्षक छन्। हो १४ जना। जसमध्ये ८ गोलरक्षक त दर्ता गरिएका गोलरक्षक हुन्। कुनै पनि ठूला क्लबमा उत्कृष्ट वैकल्पिक गोलरक्षक हुनु स्वाभाविक नै हो। तर ८ जना सिनियर गोलरक्षक एउटै स्थानको लागि प्रतिस्पर्धा गर्नु निकै नै अनौठो तथा अप्रत्याशित दृश्य नै हो।

पीएसजीमा गोलरक्षकको वर्चस्व

१) जियानलुइगी डोनारुम्मा

उमेर: २२
क्लबमा अनुबन्धित: सन् २०२१
यसअघि: एसी मिलान (२७६ खेल)

२) केलर नभास

उमेर: ३४
क्लबमा अनुबन्धित: सन् २०१९ (८३ खेल)
यसअघि: रियल मड्रिड (१८३ खेल)

३) अल्फोन्स अरेयोला

उमेर: २८
क्लबमा अनुबन्धित: सन् २०१६ (११५ खेल)
यसअघि: फुलह्याम (लोन, ३७ खेल)

४) सर्जियो रीको

उमेर: २७
क्लबमा अनुबन्धित: सन् २०१९ (२६ खेल)
यसअघि: सेभिया (१७४ खेल)

५) एलेक्जेन्डर लेटलिएर

उमेर: ३०
क्लबमा अनुबन्धित: सन् २०२० (१ खेल)
यसअघि: ओर्लियन्स (६ खेल)

६) मार्सिन बुलका

उमेर: २१
क्लबमा अनुबन्धित: सन् २०१९ (२ खेल)
यसअघि: चेल्सी (४ खेल)

७) गारिसोन इनोसेन्ट

उमेर: २१
क्लबमा अनुबन्धित: सन् २०१९
यस अघि: पीएसजी बी (३ खेल)

८) डेनिस फ्रान्ची

उमेर: १८
क्लबमा अनुबन्धित: सन् २०२१ (१ खेल)
यसअघि: पीएसजी अण्डर-१९ (५ खेल)

यी गोलरक्षक बाहेक पीएसजीमा अझै मत्यास रान्द्रियामामी, यानिस साइडानी, अन्फाने अहमदा, नाथन विटुमजला, नेहेमिया फर्नान्डेज र सामुयल नोइरेऊ दाउरियात पनि शीर्ष १ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?