‘माधव नेपाल अब एमाले हुन सक्दैनन्’ (भिडियोसहित)

लोकपथ
3.4k
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बाहिरिएको भोलीपल्टै आफ्नो निवास बालकोट पुगेर वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा ठाउँ नभएको भन्दै आक्रोस पोखे । एमाले भित्रको आन्तरिक विबादकै कारण ५ वर्षसम्म प्रतिपक्षमा बस्न जनमत पाएको नेपाली कांग्रेस अहिले सरकारको नेतृत्व गर्न पुगेको छ । एमाले भित्रको आन्तरिक कलह कसरी समाधान होला ? संसदमा एमालेको प्रतिपक्षी भूमिका लगायतका विषयमा केन्द्रित रहेर एमालेका कार्यालय सचिव एवं पूर्वमन्त्री शेरबहादुर तामाङसँग लोकपथका लागि रामेश्वर सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

एमाले आफ्नै कारण सरकारबाट बाहिरिनु पर्यो । यो स्थिती कसरी आयो ?

आफ्नो कारण त के भन्नु हामी भित्र कतिपय कमी कमजोरीहरु थिए होलान र त्यो हुनुमा केही तत्वहरु मिसिएको छ । एमाले भित्रका आन्तरिक असमझदारीमात्रै कारण रहेनन् । कारणहरु धेरै छन् । ती समयक्रममा खुल्दै जानेछन् । त्यो नेपाली जनताले छर्लङग थाहा पाउनेछन् ।

मेहनतका साथ एमाले बनाउनुभयो । अहिले झण्डै–झण्डै फुटको अवस्थामा पुग्यो । सम्झिदा दुख लाग्दैन ?

एमाले बनाउन लाखौं नेता कार्यकर्ताक र नेपाली जनताको पनि योगदान छ । एमाले बन्नुमा धेरैले बलिदानीपूर्ण संघर्ष गरेका छन् । जनतामा एमाले लोकप्रिय पनि छ । अलि छिट्टै निर्वाचनमा गएर जनमत लिएर आउन चाहन्थ्यो,एमाले । तर प्रतिनिधि सभा पुनः स्थापना भएपछि ढिलो हुने भयो भन्ने मात्रै हो । केही साथीहरु अर्कै पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न पुगे । त्यसैको जगमा सर्वाेच्च अदालतले जनमतको विपरित परमादेशले कांग्रेसलाई सत्तामा पुग्ने मौका मिल्यो । जनादेश र परमादेश कुन बलियो भन्ने हामी जनतामा गएर परीक्षण गर्छाै । जनताको जनादेश बोकेर हामी आउँछौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार संचालन गर्दा स्वेच्छाचारिता देखाएको आरोप छ,माधव नेपाल पक्षको ?

त्यो गलत आरोप हो । के ओली अर्काे पार्टीको नेतालाई प्रधानन्त्री बनाउन हस्ताक्षर गर्न पुग्नु भएको थियो र ? एमालेको सरकार गिराउन र एमाले सिध्याउन त ओली लाग्नु भएको थिएन नि । उनीहरुले जस्तो अपराध ओलीले गर्नु भएको छैन । ओली एमाले बनाउन र संगठित गर्न लाग्नुभएको छ । ओलीलाई देखाएर उनीहरुको अपराध क्षम्य हुँदैन ।

सर्वाेच्च अदालतको प्रतिनिधि सभा पुनः स्थापनाको फैसलाप्रति असन्तुष्टि जनाउनुभयो । एमाले त बिधिको शासन मान्ने पार्टी होइन र ?

हामी विधिको शासन मान्ने नै हौँ । तर त्यसो भन्दैमा शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायपालिकाले कार्यपालिकाको भूमिका खेल्न थाल्यो भने के हुन्छ ? अहिले विधिको उल्लंघन भएको छ । सर्वाेच्चको फैसला स्वीकार गरेरै एमाले बालुवाटारबाट बाहिरिएको हो । यसको फैसला जनअदालतमा हुन्छ । कुन कुन होटलमा बसेर कता कताको कनेक्सन मार्फत के के गरे भन्ने हामीलाई सबै थाहा छ । हामीले संविधान र कानून सम्मत काम गरेका छौं । यदि हामीले संविधान र जनविरोधी काम गरेका छौ भने जनताले निर्णय गर्छन् ।

अब एमाले एक हुन्छ त ?

एमाले कार्यदलले १० बुँदे सुझाव दिएको छ । जसले त्यसलाई स्वीकार गरेर पार्टीको पक्षमा आउछन् एमाले हुन्छन्,जसले स्वीकार्दैनन् उनीहरु एमालेमा बस्दैनन् ।

पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट हटेको भोलीपल्ट बालकोट निवास पुगेर वरिष्ठ नेता नेपाललाई अब पार्टीमा स्थान छैन भन्नुभयो । के एमालेमा एकता टरेको हो त ?

अब नेपाललाई पार्टीमा राख्ने अवस्था रहेन । कार्यदलले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्धामा फैसला गर्नु अघि शेरबहादुर देउवाको पक्षमा २३ जना एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सुझाव दिएको थियो । तर त्यो कार्यान्वयन भएन । अब माधव नेपाल एमाले हुन धेरै घुम्ती बाटो छ । अब उहाँ एमाले हुन त्यति सहज पनि छैन । नेता नेपालकै कारण एमाले सिंहदरवारबाट बाहिरियो ।

देउवा सरकारलाई तपाईहरुको सहयोग के हुन्छ ?
प्रतिनिधि सभा विघटन अवश्यभावी छ । एकमहिना पछि निर्वाचन नै घोषणा हुने हो । हामी विश्वासको मत दिदैनौ । आज कसलाई प्रधानमन्त्री बनाउने र कसले निर्वाचन गराउने भन्ने सेटिङका कारण अदालत बिवादमा मुछियो । अदालत चोखो बस्नुपथ्र्याे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?