सार्वजनिक यातायातको भाडा वृद्धिविरुद्ध आन्दोलनमा उत्रिने ५ विद्यार्थी संगठनको घोषणा

लोकपथ
336
Shares

काठमाडौं । सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्। आज अखिल (छैठौं) को कार्यालयमा बसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।

पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं । साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बैठकमा सहभागी अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

कोरोनाले जनता थलिएको, लाखौंको रोजगारी गुमेको, जनता आर्थिक रुपमा जर्जर भएर एक पेट खाना जुटाउन समेत गाह्रो भइरहेको समयमा यति ठूलो मात्रामा भाडा वृद्धि गरिनु गरिबमारा निर्णय हो । आन्दोलनरत पाँच विद्यार्थी संगठनको विज्ञप्तिमा भनिएको छ।

यसैगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ मात्रै घटाएकोमा पाँच विद्यार्थी संगठनले असन्तुष्टि जनाएका छन् । उनीहरूले निगमले २०७१ पछि विद्यार्थी आन्दोलनको मागलाई आंशिक सम्बोधन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, निगमले एकातिर स्वचालित मूल्यप्रणालीलाई इमानदारीपूर्वक कार्यान्वयन गरेको छैन भने अरर्कोतिर विद्यार्थी सहुलियतलाई लागु गरेको छैन । तसर्थ पेट्रोलियम पदार्थमा लगाइएको कर र अन्य कतिपय असान्दर्भिक शीर्षकमा उठाउने रकम घटाएर थप मूल्य घटाउन र एलपी ग्यासमा दुई रङ्गको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा तत्काल सहुलियत दरमा उपलब्ध गराउन जोडदार माग गर्दछौं ।

यसैगरी विद्यार्थी संगठनहरुले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन स्विचिङ् गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानबीन गरी कार्वाही गर्न जोडदार माग गर्दछौं ।

आन्दोलनरत पाँच विद्यार्थी संगठनमा काङ्ग्रेस निकट नेविसंघ , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी माधव नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?