दक्षिण कोरियामा चौथो वेभको पहिलो हप्ता, कोभिडका संक्रमितहरु बढ्दै

लोकपथ
119
Shares

काठमाडौं । दक्षिण कोरियामा कोभिड-१९का संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाका अधिकारीहरुले गएको शनिवार कोभिड-१९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड-१९ का संक्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलवार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ । पछिल्ला हप्ताहरुमा यसरी संक्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि संक्रमितको संख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

यही तथ्यांककै आधारमा यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधवार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । बुधवार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका संक्रमितहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।

यहाँ अहिलेसम्म २ हजार ५० जनाको कोभिड संक्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँको मृत्यु दर १।१८ प्रतिशत रहेको पाइएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?