मोरङमा बाम गठबन्धन हाबी हुने, यस्तो छ नालीबेली

विराटनगर, २० असोज – नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको बाम गठबन्धन र नेपाली काँग्रेस नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनको कारण आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन रोमाञ्चक हुने देखिएको छ ।पार्टी एकीकरणसहितको सहमति गर्दै बाम गठबन्धन निर्माण भइसकेको अवस्थामा दुई राप्रपा, राजपा र फोरम लोकतान्त्रिकलाई समेटेर अर्को गठबन्धन बनाई निर्वाचनमा जाने तयारीमा काँग्रेस रहेको छ ।दुई गठबन्धन चुनाबमा सहभागी हुने भएपछि मोरङका ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १२ प्रदेशसभा निर्वाचन क्षेत्रको प्रतिष्पर्धा रोचक बन्ने देखिएको छ । यसअघि निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा ३ नम्बर क्षेत्र बाहेक अन्य क्षेत्र नेपाली काँग्रेसको अनुकुल हुनेगरी निर्धारण गरेको भन्दै आलोचना भइरहेको बेला गठबन्धनपछि फरक अवस्था देखिएको छ ।मंसिर २१ गते हुने निर्वाचनको लागि दलहरुले आन्तरिक तयारी सुरु गरी उम्मेदवार सिफारिस गरेपनि गठबन्धनको सिट बाँडफाँड भइसकेको छैन । जसले गर्दा कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवार बन्छन् भन्ने यकिन हुने अझै केही दिन लाग्नेछ । तर, बाम गठबन्धन बनिसकेको र काँग्रेसको नेतृत्वमा अर्को गठबन्धनको पहल भइरहेकोले निर्वाचनमा मुख्यतः २ गठबन्धनबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई पार्टीको आधिकारिक मत मान्दा बाम गठबन्धन जिल्लामा हाबी हुने देखिएको छ । बाम गठबन्धन इतरका शक्तिहरु सबै एकठाउँ उभिएपनि जिल्लामा ३ देखि ४ क्षेत्र बाम गठबन्धनले जित्ने निश्चित देखिएको छ ।मोरङको क्षेत्र नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा ३७ वडाका एमाले उम्मेदवारले २४ हजार २ सय ८ मत, नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ६ सय २६ मत र माओवादी केन्द्रका उम्मेदवारले ८ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए । अब बाम गठबन्धनको मत ३३ हजार १ सय ७१ पुगेको छ । जुन काँग्रेसको मतभन्दा करिब १० हजार बढि हो । सो क्षेत्रमा काँग्रेसको गठबन्धनमा सामेल हुने भनिएका राप्रपासँग झिनो मत बाहेक अन्य दलको मत छैन ।जिल्लाको पूर्वी दक्षिणी क्षेत्र समेटिएको क्षेत्र नम्बर २ का २९ वडामा नेपाली कांग्रेसको २२ हजार ३ सय ५०, एमालेले १९ हजार ४१  र माओवादी केन्द्रकोे ११ हजार २ सय ३२ मत थियो । बाम गठबन्धनको मत ३० हजार २ सय ७३ पुग्छ । जुन काँग्रेसको भन्दा करिब ८ हजार बढि हो । सो क्षेत्रमा संघीय समाजवादी फोरमको केही मत भएपनि उसले काँग्रेसको गठबन्धनमा सहभागी नहुने बताइसकेको छ ।जिल्लाको क्षेत्र नम्बर ३ यसअघि नै नेकपा एमाले बलियो रहेको वडा हो । सो क्षेत्रका २६ वडामा एमालेले २९ हजार १ सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार ४ सय ९५ मत पाएका थिए । अब बाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेर काँग्रेसभन्दा २१ हजार बढिको मतान्तर पुगेको छ ।विराटनगर महानगरपालिका जोडिएका जिल्लाका ४, ५ र ६ नम्बर क्षेत्रमा भने मधेस केन्द्रित दलको मत पनि राम्रो रहेको छ । खासगरी क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको र ४ तथा ६ मा फोरम लोकतान्त्रिकको मत छ । यस्तै नगर क्षेत्रमा राप्रपाको पनि मत रहेको छ । काँग्रेससँग यी दलको गठबन्धन कायम भएमा यि क्षेत्रमा भने काँग्रेस पनि बलियो शक्ति बन्नेछ ।विराटनगरकासहति आसपासका २३ वडा रहेको क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको १७ हजार ७ सय ११, एमालेको १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमको ७ हजार ४ सय ९६ र माओवादी केन्द्रको ६ हजार ४ सय ६१ मत थियो । अब बाम गठबन्धनको मत २३ हजार १ सय ५ पुगेको छ भने काँग्रेस र लोकतान्त्रिक फोरम गठबन्धन भएमा २५ हजार २ सय ७ मतसहित करिब २ हजार मतको अग्रतामा रहनेछ ।क्षेत्र नम्बर ५ का २४ वडामा कांग्रेसको १३ हजार ३ सय ६९, संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४, माओवादी केन्द्रको १० हजार ९ सय ८१, एमालेको ८ हजार ९ सय ७९ र फोरम लोकतान्त्रिकको ३ हजार मत छ । सो क्षेत्रमा बाम गठबन्धनको मत १९ हजार ९ सय ६० पुगेको छ भने काँग्रेस र लोकतान्त्रिकको मत १६ हजार छ । सो क्षेत्रमा संघीय समाजवादी फोरमको काँग्रेसँसग गठबन्धन नभए बाम गठबन्धन नै बलियो बन्ने देखिएको छ ।जिल्लाको क्षेत्र नम्बर ६ का २० वडामा कांग्रेसको २० हजार ९ सय ४०, एमालेको १७ हजार ९ सय २, माओवादी केन्द्रको ८ हजार ३ सय ९, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत छ । सो क्षेत्रमा बाम गठबन्धनको मत २६ हजार ३ सय ० तथा काँग्रेस–लोकतान्त्रिक फोरम गठबन्धनको २ हजार ९ सय ८८ मत हुन्छ ।गत स्थानीय तहको मत परिणामलाई आधार मान्दा जिल्लामा बाम गठबन्धन इतरका सबै शक्तिबीच तालमेल भएपनि १, २ र ३ नम्बर क्षेत्रमा गठबन्धन बलियो बन्ने देखिएको छ । सो अवस्थामा ४ र ५ मा काँग्रेस गठबन्धन बलियो बन्ने र ५ मा प्रतिष्पर्धा हुने देखिन्छ । तर, काँग्रेससँग संघीय समाजवादी फोरमको गठबन्धनन नभएमा ५ नम्बर क्षेत्रमा पनि बाम गठबन्धन नै बलियो बन्नेछ  भने ४ र ५ मा कडा प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?