फ्रान्स । फ्रान्सको नियामक निकायले गुगलमाथि झण्डै ६० करोड अमेरिकी डलर अर्थात् करिब ७१ अर्ब रुपैयाँ बराबरको रकम जरिवाना तिराउने निर्णय गरेको हो । समाचार प्रकाशन गरेबापत रकम भुक्तानी नगरेको भन्दै फ्रान्सले गुगलमाथि यो जरिवाना तिराउने निर्णय गरेको छ।
फ्रान्सको एन्टिट्रस्ट एजेन्सीका प्रमुख इसाबेल डी सिल्भाले भनेका छन्, फ्रान्सको नियामक निकायले कुनै कानूनी दायित्व तोक्दछ, तब त्यसको पूर्ण पालना गर्नुपर्दछ, अक्षर र भावना दुवैमा । तर यो घटनामा दुर्भाग्यपूर्ण रुपमा गुगलले दायित्वको पालना गरेन।
सन् २०१९ मा युरोपेली युनियनले सर्च इन्जिन तथा सोसल मिडिया प्लाटर्फममा शेयर हुने समाचार सामग्रीहरुबापत सम्बन्धित समाचार संस्थालाई रकम तिर्नुपर्ने फैसला गरेको थियो। सोही बमोजिम गुगलले गतवर्ष आगामी ३ वर्षभित्रमा समाचार एजेन्सीहरुलाई समाचार ‘लाइसेन्सिंग’ बापत १ अर्ब डलर भुक्तान गर्ने घोषणा गरेको थियो। तर, उक्त घोषणा पालना नगरेको फ्रान्सको नियामक निकायले जनाएको छ।
फ्रान्सेली समाचार एजेन्सी तथा प्रकाशकहरुसँगको सम्झौता सम्बन्धमा गरिएका धेरै प्रयासहरु गुगलले बेवास्ता गरेको विज्ञप्तिमा भनिएको छ ।
उता आफुमाथि करोडौँ डलर जरिमाना गर्ने फ्रान्सको निर्णयप्रति गुगलले आपत्ति जनाउँदै आफू निकै निराश भएको जनाएको छ ।
एक विज्ञप्ती प्रकाशित गर्दै गुगलका प्रवक्ताले भनेका छन्- “हामी समग्र प्रक्रियामा असल मनसायका साथ कार्य गरिरहेका छौँ । यो जरिवानाले सम्झौतामा पुग्ने हाम्रो प्रयासका साथै हाम्रो प्लाटर्फममा समाचारले कसरी काम गर्न भन्ने यथार्थलाई अवमूल्यन गरेको छ।”
गुगलका अनुसार फ्रान्सेली समाचार मिडियाहरुको प्रतिनिधि संस्था एलाइन्स डे ला प्रेस्से डी इन्फर्मेसन जेनेरालेसँग आफ्नो सम्झौता भएको र ले मोन्डे तथा ले फिगारोलगायतका केही अग्रणी सञ्चार माध्यमहरुसँग पनि छुट्टै सम्झौता भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया