बारा र धनुषामा क्रियाशील सदस्यताबारे विवाद : सानेपाको धर्नाप्रति नेता केसीको ऐक्यवद्धता

लोकपथ
175
Shares

काठमाडौं । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा जारी धर्ना कार्यक्रमप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ऐक्यवद्धता जनाएका छन्।

नेता केसीले बुधवार दिउँसो पार्टी मुख्यालय सानेपा पुगेर बारा र धनुषाका नेता तथा कार्यकताको धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाएका हुन्।

बाराका कांग्रेस नेता कार्यकर्ताले गत आइतवारदेखि धर्ना दिंदै आएका छन् भने  धनुषाका नेता कार्यकर्ताहरुले पनि आजदेखि धर्ना शुरु गरेका हुन्।

धर्नामा बसेका बारा कांग्रेसका नेता तथा कार्यकर्ताले विभिन्न १३ बुंदे माग राखेका छन्।  उनीहरुले जिल्ला सभापतिले आफू अनुकुलका १६  वडामा फारम वितरण गरि केन्द्रिय परिपत्र उलंघन गरेको आरोप लगाएका छन्।

यस्तै नयाँ क्रियाशील सदस्यताका विषयमा आवश्यक छानविन गरि केन्द्रिय मापदण्ड अनुसार नयाँ क्रियाशील सदस्यताको फारम उपलब्ध गराउन उनीहरुले माग गरेका छन्। अपराधिक बाटोबाट पार्टी कब्जा गर्न खोजिएको भन्दै उनीहरुले आफ्नो मागहरु तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

उता धनुषा कांग्रेसले छानविन समितिका सदस्य आनन्द ढुंगाना नै विवादको सृजनकर्ता भएको आरोप लगाएका छन्। केन्द्रिय क्रियाशील सदस्यता छानविन समिति २०७७ लाई बुझाइएको उजुरीमा भनिएको छ, “प्राकृतिक न्यायको सिद्धान्त बमोजिम स्वार्थमा बाझिएका सन्दर्भमा न्यायको नैतिकताले उक्त समितिमा बसी धनुषा क्षेत्र न. १ को विवाद निरुपण एवम् तुङ्ग्याउन छानविन समितिका वहाँबाहेक अन्य सदस्यज्यूहरूलाई जिम्मा दिन सादर अनुरोध गर्दछौं।”

कांग्रेसले देशभरका ५५ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी रहेको जनाएको छ । १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यतामा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५५ निर्वाचन क्षेत्रको टुङ्ग्याउन बाँकी रहेको जनाएको हो।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

कांग्रेसको १४औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?