युरो कप २०२० का उत्कृष्ट ११ खेलाडी

काठमाडौं । युरो कप २०२० इटालीले उपाधि उचालेसँगै अन्त्य भएको छ। इटालीले फाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो दोस्रो युरोपियन महादेशीय उपाधि उचालेको हो।

१६औं संस्करणको युरो कप समापन भएसँगै युरो कपको आयोजक तथा युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ। ‘युईएफए’ले सार्वजनिक गरेको सूचीमा केही उत्कृष्ट खेलाडी समावेश भएका छैनन्।

प्रतियोगिताका ‘गोल्डेन बुट’ विजेता क्रिस्टियानो रोनाल्डो यस सूचीमा समावेश नभएका ठूला नाम मध्येका एक हुन्। त्यस्तै फ्रेन्च मिडफिल्डर पोगबा, स्विट्जरल्यान्डका फूल ब्याक माएले, इटालीका कप्तान केइलेनी, इंग्लिश फूल ब्याक लुक श युईएफएको सर्वोत्कृष्ट ११ को सूचीमा पर्न असफल भए।

यद्यपि उपाधि विजेता इटालिकै खेलाडीको वर्चस्व यस सूचीमा पाइएको छ। इटालीका गोलरक्षक तथा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ जियानलुइगी डोनारुम्मासँगै अन्य चार इटालीयन खेलाडी यस सूचीमा समावेश छन्।

प्रमुख दुई रक्षकमा यस प्रतियोगिताका दुई फाइनलिस्ट टोलीबाट लियोनार्डो बोनुची (इटाली) र ह्यारी मगवायर (इङ्ल्यान्ड) समावेश भएका छन्। त्यस्तै दुई फूल ब्याकमा इंग्लिश ‘राइट ब्याक’ काइल वाकर र इटालियन ‘लेफ्ट ब्याक’ लियोनार्डो स्पिनाजोल्ला परेका छन्। स्पिनाजोल्लाले बेल्जियम विरुद्धको खेलमा ‘एसीएल’ इन्जुरी भोगेका थिए र त्यस पश्चात् उनले सबै खेल गुमाए पनि उनले लेफ्ट ब्याकमा आफ्नो स्थान सुरक्षित पार्न सफल भएका छन्।

‘युईएफए’ले मिडफिलडमा इटालीका जोर्जिन्होसँगै डेनमार्कका पिएरे एमिल होइवियर्गलाई समावेश गरेको छ। त्यस्तै तेस्रो मिडफिल्डरमा प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी चुनिएका पेड्रीले स्थान पाएका छन्।

सूचीमा ‘युईएफए’ले तीन फरवार्ड खेलाडीलाई स्थान दिएको छ। लेफ्ट विङमा इङ्ल्यान्डका ‘ट्रस्टेड म्यान’ रहिम स्टरलिङ परेका छन् भने राइट विङमा इटालीका फेडेरीको कियेसा पर्न सफल भएका छन्।

‘युईएफए’ले सर्वोत्कृष्ट खेलाडीको स्ट्राइकरको स्थानमा भने बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई स्थान दिएको छ। जबकि लुकाकु भन्दा धेरै गोल गर्ने प्रतियोगिताका ‘गोल्डेन बुट’ विजेता क्रिस्टियानो रोनाल्डो, ‘सिल्भर बुट’ विजेता प्याट्रिक शिक र ‘ब्रोन्ज बुट विजेता’ करिम बेन्जीमा सूचीमा अटाएका छैनन्।

युईएफए टिम अफ दि टुर्नामेन्ट

गोलरक्षक: जियानलुइगी डोनारुम्मा

डिफेन्डर: काइल वाकर, लियोनार्डो बोनुची, ह्यारी मगवायर, लियोनार्डो स्पिनाजोल्ला

मिडफिल्डर: जोर्जिन्हो, पेड्री, पिएरे एमिल होइवियर्ग

फरवार्ड: रहिम स्टरलिङ, रोमेलु लुकाकु, फेडेरिको कियेसा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?