जनमत मासिक अब डिजिटलमा

लोकपथ
168
Shares

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका दिन पारेर आजदेखि जनमत साहित्य मासिकको डिजिटल संस्करण आएको छ ।

अब जनमतका सिर्जनाहरु जनमत साहित्य डटकममा पनि पढ्न पाइने छ । पत्रिकामा प्रकाशन भएका र डिजिटल संस्करणमा मात्रै पनि प्रकाशन गरिनेछ, सर्जकका सिर्जनाहरु । “यो सर्जकहरुका डिजिटल मञ्च हो । दिगो भविष्यका लागि यसको निरन्तरता अपरिहार्य छ” प्रधान सम्पादक मोहन दुवाल भन्छन, “जनमतमा यसको पुराना अर्काइभ, इपेपरका साथै पोडकास्ट र भिडियो मार्फत साहित्यमा पनि मल्टिमिडियाको स्वाद पाठकलाई पस्कने जमर्को गरिनेछ ।”

प्रधान सम्पादक दुवालका अनुसार जनमतको आफ्नै खालको यात्रा र गन्तव्य छ । जनमत मासिक पत्रिकाको माध्यमबाट २०४५ माघदेखि निरन्तर साहित्यिक सम्प्रेषण गर्ने अभियानमा सकृय रुपले लाग्न पाएको आफ्नो इतिहास र पहिचान छ ।

दुवालले दिएको जानकारी अनुसार,जनमत मासिकमा साहित्यकारहरुको विशेष अंक प्रकाशित हुनुका साथै थुप्रै जिल्लाका साहित्यिक अंकहरु अमेरिका र सिक्किमका विशेष अंकहरु पनि प्रकाशित भएका छन् । निकट भविष्यमा नै तीन सय अंकको विशेष अंक प्रकाशन गर्ने योजना रहेको र उक्त अंकमा जनमतबाट सम्मानित भइसकेका वाङ्मयसेवीहरुका साथै जनमतका विशिष्ट मित्रहरुका लेख–रचनाहरु प्रकाशित हुने छन् । जनमत प्रकाशन बाट हाल सम्म १५० वटा पुस्तक-ग्रन्थहरु प्रकाशित भएका छन् । थुप्रै पुस्तकहरु प्रकाशनको क्रममा छ । हाल सम्म १७६ जना वाङ्मय सेवीहरुको सम्मान जनमतबाट भइसकेको छ ।

 

देश-विदेशका साहित्यिक संघ–संस्थाहरु र साहित्यकारहरुको जनमतको सक्रियतामा बनेपामा सम्मान गरिएको छ । लेखकीय पुस्तकालयको परिकल्पना भए अनुसार पुस्तक संकलन गर्ने कार्य भइरहेको छ । साहित्यकै सङ्ग्रहालय जस्तो गरी यस पुस्तकालयलाई रुपान्तरण गर्ने र सोध अन्वेषण गर्नेहरुको लागि यस पुस्तकालय आश्रम घरका रुपमा संचालन गर्ने योजना छ ।

जनमत साहित्यको साझा चौतारीका रुपमा उभिने र उभिन चाहनेहरुलाई टेको दिने दृष्टिकोण नै जनमतको आफ्नो मौलिक पहिचान भएको दुवाल बताउँछन ।

२०४५ अघि विचारप्रधान पत्रिका ‘जनमत’ त्यसपछि साहित्य मासिकको रुपमा नियमित प्रकाशित हुदैं आएको छ । यसले अहिलेसम्म १४६ वटा साहित्य स्रस्टाहरुको कृति बजारमा ल्याइ सकेको छ । जनमतले हरेक वर्ष १३ जना साहित्य-कलाका सर्जकहरुलाई विभिन्न विधामा सम्मान पनि गर्ने गरेको छ । यसको छापा प्रकाशनमा अहिलेसम्म भानुभक्त आचार्य, भीमनिधि तिवारी,पारिजात,चूडामणि रेग्मी, धुस्वां साय्मि, लैनसिंह बाङ्गदेल, केवलपुरे किसान, जगदीश घिमिरे, शेषराज सिवाकोटी, ज्ञानकाजी मानन्धर, परशु प्रधान, श्रीहरि फुयाँल, मोहनविक्रम सिंह, दीनानाथ शर्मा, मोदनाथ प्रश्रित, रामप्रकाश समथि, डा. रामप्रसाद दाहाल आदि स्रस्टाहरुबारे विशेष अंक प्रकाशित गरेको छ ।

“साहित्यिक पत्रिकाले निरन्तरता पाउन पक्कै सजिलो थिएन । तर कोरोनाकालमा पनि यसको प्रकाशन कुनै महिना पनि बन्द भएन । जनमत लामो रेसको घोडा हुन चाहन्छ,” जनमतकी सम्पादक सिर्जना दुवाल श्रेष्ठ भन्छिन, “जनमत मासिकको साहित्य बजारमा सौन्दर्य उतिकै कायम छ । त्यो सौन्दर्यलाई कायमै गरेर अहिले प्रविधिमा आएको बदलाव र विकासलाई आत्मसाथ गर्न चाहान्छौ, हामी ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?