काठमाडौं ।लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ ।
चामे गाउँपालिका-४ र ५ जोड्ने सो पुल मस्र्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिएका छन् ।
उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मस्र्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन ।
नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।”
नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु¥याएको थियो । अहिले पुलबाट आवातआवत बन्द छ ।
स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पुर्याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उनले बताए।
उनि भन्छन्,“ यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका-९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।”
त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् ।
जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ ।
जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।
भेन्टिलेटर उपयोगमा आएन
गण्डकी प्रदेश सरकारले प्रदान गरेको एक भेन्टिलेटर यहाँ प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पतालमा जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएको हो ।
जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको अस्पतालका डा. प्रतिभा गौलीले जानकारी दिएका छन्। उनले भने,“कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् । जडान गरिएको छैन ।
भेन्टिलेटरसम्बन्धी तालीम प्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” अस्पतालमा भेन्टिलेटरसहित दुई शैयाको सघन उपचार कक्ष निर्माणका लागि सामान खरीद गरिएको छ ।
जटिल बिरामीका लागि भेन्टिलेटरको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन नसकेको उनले बताए ।
१५४ सङ्क्रमित
जिल्लामा कोरोनाबाट १५४ सङ्क्रमित भइसकेका छन् । अहिले जिल्लामा सक्रीय सङ्क्रमितको सङ्ख्या १७ रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार सङ्क्रमितमध्ये १६ जना जिल्लाभित्रैको संस्थागत आइसोलेशन केन्द्रमा उपचार भइरहेको छ भने एक जनालाई पोखरा पठाइएको छ । जिल्लाका चार स्थानीय तहमध्ये हालसम्म नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा रहेको प्रमुख आचार्यले बताएका छन् । चामेमा ६०, ङिस्याङमा ६२ र नासोँ गाउँपालिकामा ३० जनालाई सङ्क्रमण पुष्टि भएको थियो ।
तीमध्ये अहिले ङिस्याङका १० र नासोँका सात सङ्क्रमितको उपचार भइरहेको कार्यालयको तथ्याङ्क छ । १३७ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
कोरोना खोप बचाउन सकस
जिल्लामा दोस्रो चरणमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप बचाउन मुस्किल भएको छ । जिल्लामा बाढीपहिरोपछि विद्युतीय, सडक, फोन इन्टरनेटमा अवरुद्ध हुँदा खोप बचाउन मुस्किल भएको हो ।
तत्कालका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइसप्याक मगाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताएका छन्।
उहाँले भन्नुभयो, “बाढीपहिरो पश्चात् जिल्लामा पोल ढलेपछि बिजुली अवरुद्ध भएको छ ।
पच्चीस दिनदेखि तत्कालका लागि पोखराबाट मगाइएको आइसप्याकमा खोपलाई सुरक्षित तवरले राखेका छौँ । यसरी कति दिन राख्ने खोप खेर जाने सम्भावना बढ्दै गएको छ ।”
यस्तै विकट नार्पाभूमिमा खोप कसरी लैजाने भन्ने चिन्ता थपिएको छ । “ त्यहाँ पुग्न हिँडेर जान मात्र तीन दिन लाग्छ । अहिले त झन् बाढीपहिराले सबै बाटोघाटो भत्काउनाका साथै बगाएर लगेको छ । हिँडेर जान सम्भव छैन”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया