‘अहिले शेरबहादुर देउवाको प्रशंसा भइरहेको छ’ (भिडियोसहित)

लोकपथ
13.5k
Shares

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुँदैछ । कांग्रेसभित्र बिस्तारै महाधिवेशनको सरगर्मी बढिरहेको छ । क्रियाशील सदस्यताको बिवाद भने अझै टुंगिएको छैन । महाधिवेशन नजिकिएसंगै कांग्रेस नेताहरु पार्टीभित्र आफ्नो राजनीतिक भविष्य जोगाउन आन्तरिक रणनीतिमा लागेका छन् ।

महाधिवेशन फेरि एक वर्ष पर सार्ने मत पनि कांग्रेस भित्र सुनिन थालेको छ । कांग्रेस महाधिवेशन केन्द्रीत रहेर कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतसँग लोकपथका लागि रामेश्वर सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

क्रियाशील सदस्यता बिवाद कहिले टुङ्गो लाग्छ ?

कोरोना महामारी जस्ता चुनैतीका बीच महाधिवेशनको तयारीमा जुटेका छौ । महाधिवेशन सम्बन्धि कामहरु अघि बढिरहेका छन् । क्रियाशील सदस्यता विवादका बिषयमा छानविन समितिमा रहनु भएका नेताहरुले असार महिनाभित्रै विवाद टुंग्याउने अठोट गर्नुभएको छ । निर्वाचन समितिले पनि गृहकार्य गरिरहेको छ । साउन १२ बाट वडा अधिवेशन शुरु हुँदैछ । बिभिन्न चुनौतीका बावजुद सुरक्षित र व्यवहारिक तवरले महाधिवेशन सम्पन्न गर्ने लक्ष्य नेतृत्वले लिएको छ ।

विगतमा क्रियाशील सदस्यताबारे त्यति धेरै बिवाद हुँदैनथ्यो,यसपटक बिवाद धेरै देखियो । किन ?
बिगतमा पनि धेरै विवाद हुन्थ्यो । कतिको नाम छुटेको हुन्थ्यो । कतिको नाम यताउता परेको हुन्थ्यो । यसपटक चाहि हामीले निकै पारदर्शी रुपमा प्रविधिको प्रयोग गरेर बिगतका समस्या नदोहोरिउन भनेर विवाद समाधान गर्दैछौ । अब सबैले अनलाइन मार्फत आफ्नो सदस्यताबारे जानकारी लिन सक्छन् । बिगतमा ढड्डा हेर्न केन्द्रीय कार्यालय धाउनुपथ्र्याे ।

महाधिवेशन फेरि सर्ने हल्ला छ । विशेष महाधिवेशनको कुरा पनि उठिरहेको छ । यथार्थ के हो ?

क्रियाशील सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशन नै हुन्छ । विशेष महाधिवेशन भनिरनै पर्दैन । महाधिवेशन तोकिएकै मितिमा गर्न हामी द्रुत गतिमा लागिरहेका छौं । भोलि अब हाम्रो नियन्त्रण भन्दा बाहिरका कुरा प्राकृतिक बिपद जस्तै बाढी,पहिरो,कोरोना महामारीको डर आदिका कारण परिस्थिति बेग्लै भयो भने त्यो छुट्टै कुरा हो । नत्र नेतृत्वको समयमै महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्वता छ ।

सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने घोषणा गर्नु भएको छ । देउवाकै विश्वास पात्र मानिएका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गर्नु भएको छ ? देउवाले जित्नुहुन्छ त यस्तो अवस्थामा ?

कांग्रेस प्रजातान्त्रिक पार्टी हो । पार्टीका प्राय सबै पदहरुमा निर्वाचन मार्फत निर्वाचित हुने व्यवस्था गरिएको छ । यसमा सबैले म नेतृत्व गर्न सक्छु भनेर क्षमता देखाउने अवसर पनि हो । त्यसकारण सबै नेतालाई उम्मेदवार बन्न स्वतन्त्रता छ । तथापि उपसभापति निधि र नेता श्रेष्ठको जुन कुरा गर्नुभयो अहिले नै उम्मेदवारी मनोनयन गर्ने बेला आएको छैन । अहिले उम्मेदवार बन्ने भोलि नबन्ने पनि हुन सक्छ र अहिले चुप लागेर बस्ने भोलि उम्मेदवार बन्ने अवस्था पनि आउन सक्छ । इच्छा नै देखाउन नपाइने भन्ने हुँदैन । त्यसकारण अहिले नै निष्कर्ष निकाल्ने बेला आएको छैन । पछि सबै कुरा मिल्छ । अरुको जस्तो हाम्रो पार्टीमा तछाड मछाड भन्ने छैन । लोकतान्त्रिक पार्टीमा जिम्मेवारी लिनका लागि हुने प्रक्रिया हो महाधिवेशन । हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो बिपक्षीलाई हराएर निर्वाचन मार्फत सत्तामा गएर जनताको सेवा गर्नु हो । कांग्रेस महाधिवेशन पछि पनि एकाकार हुन्छ । त्यसको लागि म काम गर्छु ।

महाधिवेशन नजिकिदै गर्दा तपाइँको पनि चाहना होला नि उम्मेदवार बन्ने अहिले सह–महामन्त्री हुनुहुन्छ कुन पदमा उठ्दै हुनुहुन्छ ?

म विद्यालय जीवनदेखि नै अर्थात कक्षा ७ मा अध्ययन गर्दाबाट नै विद्यार्थी आन्दोलनमा लागेको हुँ । बिद्यार्थी आन्दोलनमा सक्रिय भएर लाग्दा जेल जानु पर्ने अवस्था पनि आयो । म नेपाल विद्यार्थी संघको महामन्त्री पनि भए । विद्यार्थी आन्दोलन र पछि प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गरेका बेला पनि अग्रपंक्तिमा रहेर काम गरे । सरकार र पार्टी संचालनमा पनि सक्रिय रहँदै आँए । त्यसकारण मेरो पनि महत्वकाक्षा स्वभाविक हो । म महामन्त्रीमा लड्छु । तर औपचारिक घोषणा भने पछि गर्छु । सभापतिले औपचारिक घोषणा गर्नु भएको बेला मैले पनि घोषणा गर्छु ।

महामन्त्रीमा पनि धेरै आकांक्षी देखिएका छन् नि त पार्टीमा । कसरी व्यवस्थापन हुन्छ त ?

लोकतान्त्रिक पार्टीमा सबैले आकांक्षा देखाउनु स्वभाविक हो । तर हामी मनोनयन दर्ता गर्ने बेलासम्म व्यवस्थापन गर्नेछौ ।

अहिलेका सभापति देउवाले सभापतिमा पुनः दोहोरिने आकांक्षा देखाइरहँदा महामन्त्री डा. शशांक कोइरालाले देउवालाई रोक्नुपर्छ नेतृत्व अब दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ भनिरहनु भएको छ नि ?

अहिले देशको संकटपूर्ण अवस्थामा पाका नेताहरुकै आवश्यकता छ । किनकि उनीहरुले हासिल गरेको लामो अनुभव, सीप, क्षमता र सुझबुझ पूर्ण राजनीतिले नै संकटको निकास दिन्छ । अर्काे कुरा कसैले पाका नेताहरुलाई रोक्छौ भनेर तोक्ने पनि होइन । किनकि हाम्रो महाधिवेशनमा आउने प्रतिनिधि नै हाम्रा जनता जनार्दन हुन् । उनीहरुले गर्ने निर्णय हो । उनीहरुले सुक्ष्म अध्ययन गरिरहेकै छन नि ।

पाका नेताहरुले कांग्रेसलाई समय परिस्थिति अनुकुल अघि बढाउन सकेनन् भन्ने गुनासो छ त ?

गुनासो गर्ने लोकतान्त्रिक अधिकार नै हो । पार्टी नेतृत्वले ओहो गजब गर्यो भन्ने कुरा पनि त्यो अतिशयोक्ति होला । तर कुरा के भने पार्टी चलाउने अभ्यासमा सबैलाई चित्त बुझाउने भन्ने कुरा जटिल चाहि छ । तैपनि सभापति देउवाले सकेसम्म सबैलाई मिलाएर लैजाने,पार्टीमा कसैको असन्तुष्टि नरहोस, सहमतिमै अघि बढ्नु पर्छ भन्ने कुरालाई गम्भीरताका साथ आत्मसात गर्दा गर्दै पनि कम्युनिष्टले निर्वाचनमा जिते हामी हार्दा पार्टीलाई कसरी बलियो बनाउने भन्नेतिर लाग्दा कतिपय कुरा सोचे अनुरुप हुन सकेन । तर पछिल्ला दिनमा उहाँ सुझबुझका साथ अघि बढ्नु भएको छ । त्यहि अनुभव र सुझबुझका कारण अरु पार्टी पनि हामीतिर आकर्षित भएका छन् । अहिले उहाँको प्रसंशा भइरहेको छ ।

कांग्रेसमा लामो समयसम्म कोइराला परिवारको नेतृत्व रह्यो ? १३ औं महाधिवेशले त्यसको अन्त्य गर्यो । अहिले फेरि कांग्रेसमा परिवारको लिगेसीको आधारमा उम्मेदवारी दिन थालिएको छ । वीपी पुत्र शंशाक कोइराला,गणेशमान पुत्र प्रकाशमान सिंह,महेन्द्रनारायण पुत्र विमलेन्द्र निधि पनि नेतृत्वका लागि अघि सरेका छन् । के भन्नुहुन्छ ?

कांग्रेसमा सबै नेताहरु आ– आफ्नो भूमिका क्षमता अनुसार अघि बढेका छन् । हो,जुनरुपमा अग्रजहरुले भूमिका निर्वाह गर्नुभयो त्यो अनुसार उहाँहरुलाई पार्टीमा अघि बढ्न केही सहज भयो होला, अरुको तुलनामा । तर उहाँहरु पनि क्षमतावान हुनुहुन्छ । तर सबै आधार त्यही होइन । अरु आधार गौण हुन भन्ने होइन । जुन रुपमा एउटा सामान्य नेता कार्यकर्ताले ठूलो संघर्ष गर्नुपर्छ नेतृत्वको लागि उहाँहरुको हकमा त्यो केही कम होला । तर कांग्रेसमा हजारौ हजार नेता,कार्यकर्ताको योगदान छ । सबैलाई नेतृत्वमा पुग्न बराबरको हक हुनुपर्छ । लिगेसीकै आधारमा नेतृत्व भन्ने हुँदैन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?